इतिहास रच्दै मिस नेपाल बनिन् दीपमाला ढकाल, एकैपटक तीन राष्ट्रिय कीर्तिमान
२०८३ श्रावण १७, आईतवार १३:१२
काठमाडौं । मिस नेपाल २०२६ को ताज जित्दै दीपमाला ढकालले नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा नयाँ अध्याय थपेकी छन्। गैरआवासीय नेपाली (एनआरएन) पृष्ठभूमिबाट मुख्य उपाधि जित्ने पहिलो प्रतियोगी बनेकी उनले एकै प्रतियोगितामा तीन उल्लेखनीय राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन्।
हङकङमा हुर्किएकी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै आएकी दीपमाला मिस नेपालको मुख्य उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन्। यससँगै मिस नेपाल हङकङको उपाधिबाट छनोट भई अन्ततः मिस नेपालको ताज जित्ने पहिलो प्रतियोगीको इतिहास पनि उनले रचेकी छन्।
प्रतियोगिताको ग्रान्ड फिनालेमा उनले मिस भिजनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्युटी विथ पर्पस गरी चार महत्वपूर्ण सहविधा जित्दै अर्को कीर्तिमान पनि कायम गरिन्। यसअघि कुनै पनि प्रतियोगीले एकै संस्करणमा यति धेरै सहविधा जितेका थिएनन्।
दीपमालाको सफलतासँग भावनात्मक कथा पनि जोडिएको छ। उनकी आमा रोशनीले सन् १९९४ मा मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। त्यसबेला पूरा हुन नसकेको सपना छोरी दीपमालाले आज साकार पारेकी छन्।
अब दीपमालाले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। उनको ऐतिहासिक सफलताले विश्वभर रहेका नेपाली समुदायका युवापुस्तालाई नेपालसँग अझ सशक्त रूपमा जोड्ने विश्वास गरिएको छ।




