काठमाडौं । अमेरिकामा एच–१बी लगायत अस्थायी रोजगार भिसामा रहेका विदेशी कामदारले रोजगारी गुमाएपछि पाउँदै आएको अधिकतम ६० दिनको समय हटाउने प्रस्ताव अघि बढाइएको छ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले प्रस्तावित नियमलाई समीक्षा गर्न ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयमा पठाएको छ।

तर, ६० दिने सुविधा अहिले हटिसकेको छैन। प्रस्तावमाथि समीक्षा र आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै नयाँ व्यवस्था लागू हुन सक्छ।

हाल रोजगारी गुमाएका एच–१बी कामदारले ६० दिनभित्र नयाँ जागिर खोज्न, अर्को रोजगारदातामार्फत प्रक्रिया अघि बढाउन वा निश्चित अवस्थामा आफ्नो भिसा अवस्था परिवर्तन गर्न आवेदन दिन सक्छन्।

नयाँ प्रस्ताव लागू भएमा रोजगारी गुमाउने विदेशी कामदारलाई अमेरिकामा आफ्नो कानुनी हैसियत कायम राख्न थप चुनौती हुन सक्नेछ।

यसैबीच, अमेरिकामा लामो समयदेखि बसिरहेका एच–१बीसहितका विदेशी नागरिकलाई स्थायी बसोबासको अवसर दिने अर्को प्रस्ताव पनि अमेरिकी सिनेटमा पुगेको छ। प्रस्तावित व्यवस्थाअनुसार लगातार सात वर्षदेखि अमेरिकामा बसिरहेका निश्चित व्यक्तिलाई स्थायी बसोबासका लागि आवेदन दिने बाटो खोल्ने विषय समेटिएको छ।

अर्थात्, अहिलेको नियमअनुसार ६० दिनको सुविधा कायम छ। नयाँ प्रस्ताव अन्तिम रूपमा स्वीकृत भएपछि मात्रै त्यसमा परिवर्तन हुनेछ।