शिलबन्दी गरिएका सात आँखा अस्पताल तत्काल खोल्न माग
२०८३ श्रावण ३१, आईतवार १७:३०
विराटनगर, साउन ३१ गते। जिल्ला प्रशासन कार्यालय मोरङले शिलबन्दी गरेका सातवटा आँखा अस्पताल तत्काल खोल्न माग गर्दै आँखा अस्पताल सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्।
आँखा अस्पताल संघ मोरङको तदर्थ संघर्ष समितिले आइतबार विराटनगरस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जनस्वास्थ्य ऐनविपरीत आँखा अस्पतालहरू शिलबन्दी गरिएको आरोप लगाएको हो।
समितिले दैनिक सयौँ बिरामीलाई उपचार सेवा दिइरहेका संवेदनशील स्वास्थ्य संस्थामा शिलबन्दी गरिँदा सर्वसाधारणको स्वास्थ्योपचारमा प्रत्यक्ष असर परेको जनाएको छ। अस्पताल शिलबन्दी गर्ने निर्णयले नागरिकको स्वास्थ्योपचार पाउने मौलिक अधिकारसमेत प्रभावित भएको समितिको भनाइ छ।
संघले शिलबन्दी गरिएका आँखा अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ। साथै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न, स्वास्थ्य संस्थाको सञ्चालन अनुमति तथा मापदण्ड स्पष्ट गर्न र अस्पताल सञ्चालनका क्रममा देखिएका समस्या वार्ता तथा संवादमार्फत समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
समितिले स्वास्थ्य संस्था सञ्चालनका विषयमा कानुनी तथा प्रशासनिक समस्या भए सम्बन्धित पक्षसँग समन्वय गरी समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
पत्रकार सम्मेलनमा सहभागी आँखा अस्पताल सञ्चालकहरूले बिरामीको उपचार प्रभावित हुने अवस्था तत्काल अन्त्य गरी शिलबन्दी गरिएका सबै अस्पताल खोल्न माग गरेका छन्।




