काठमाडौं, १ भदौ। प्रधानमन्त्री वालेन्द्र शाह आगामी भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गोलालका अनुसार प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू भदौ ५ गतेसम्म सांसदहरूले संसद् सचिवालयमा पठाइसक्नुपर्नेछ। त्यसपछि भदौ १० गतेको बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने कार्यक्रम तय भएको हो।

यसअघि सोमबार प्रधानमन्त्री सदनमा उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित हुन रुलिङ गरेका थिए।

सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि भदौ १० गतेको समय निर्धारण गरेका हुन्। संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारका कामकारबाहीबारे सांसदहरूले सीधा प्रश्न गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।