स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल
२०८३ भाद्र २, मंगलवार २१:५०
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र प्रणालीका जानकार सगुन पौडेल नियुक्त हुनुभएको छ।
स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव संगाल्नुभएका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासम्म विभिन्न प्राविधिक तथा नेतृत्वदायी जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस, क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायत संस्थामा समेत काम गर्नुभएको छ।
स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास र कार्यान्वयन अनुसन्धान उहाँका प्रमुख विशेषज्ञताका क्षेत्र हुन्।
शैक्षिक रूपमा पौडेलले बेलायतस्थित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्स बाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गर्नुभएको छ। साथै, इन्डोनेसियाको गाड्जाह माडा विश्वविद्यालयबाट सन् २०१९ मा जनस्वास्थ्यमा स्नातकोत्तर तथा पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातक गर्नुभएको छ।
नवनियुक्त अध्यक्ष पौडेलको नेतृत्वमा स्वास्थ्य व्यवसायको गुणस्तर अभिवृद्धि, व्यावसायिक मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमन सुदृढीकरण तथा स्वास्थ्य व्यवसायीहरूको क्षमता विकासमा थप प्रगति हुने अपेक्षा गरिएको छ।
नवनियुक्त अध्यक्ष सगुन पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।




