३५ वर्षपछि बंगलादेशमा राष्ट्रपति निर्वाचन, सत्तारूढ दलका उम्मेदवार बलियो
२०८३ भाद्र ४, बिहीबार १०:०५
ढाका विराटपाटी, ४ भदौ । बंगलादेशमा लामो ३५ वर्षपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार संसद् भवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम छ।
राष्ट्रपति पदका लागि सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ।
गत १२ फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनबाट बीएनपी सत्तामा फर्किएको थियो। संसद्मा बीएनपीको दुई तिहाइभन्दा बढी बहुमत रहेकाले मिर्जा फखरुलको जित हुने सम्भावना बलियो देखिएको छ।
पेशाले अर्थशास्त्री रहेका मिर्जा फखरुल सन् १९९० को दशकदेखि बीएनपी राजनीतिमा सक्रिय छन्। उनले यसअघि कृषि राज्यमन्त्री र स्थानीय सरकारसम्बन्धी मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन
राष्ट्रपति निर्वाचनमा कुल ३४९ सांसद सहभागी हुनेछन्। मतदानपछि मतगणना प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको छ।
निर्वाचित नयाँ राष्ट्रपतिले शुक्रबार साँझ नै बंगभवनको दरबार हलमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
यसअघि राष्ट्रपति रहेका मोहम्मद शहाबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै पाँचवर्षे कार्यकाल पूरा हुनुअघि नै राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुन लागेको हो।
हाल संसद्का सभामुख हाफिज उद्दीन अहमदले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका छन्।
बंगलादेशको संविधानअनुसार राष्ट्रपतिको पद रिक्त भएको अवस्थामा ९० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
यस निर्वाचनलाई बंगलादेशमा लामो समयपछि पुनः संसदीय प्रक्रियाबाट राष्ट्रपति चयन हुने महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।




