बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमाले–नेकपा–राप्रपाबाट ६ मन्त्री नियुक्त
२०८३ भाद्र ४, बिहीबार २०:५३
हेटौंडा, ४ भदौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेकपा र राप्रपाबाट ६ जना मन्त्री नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्रीहरूमा एमालेबाट भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाइएको छ।
त्यस्तै, नेकपाबाट सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरिएको छ। नेकपाको भागमा परेको अर्को एक मन्त्रालयमा भने पछि मन्त्री नियुक्त गरिने जनाइएको छ।
राप्रपाबाट राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनाइएको छ।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ मन्त्रालय छन्। मन्त्रिपरिषद् विस्तारपछि पनि कृषि, पशुपन्छी, वन तथा वातावरण र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।
मन्त्रालय बाँडफाँटमा सत्ता साझेदार दलहरूबीच सहमति जुटाउँदै बाँकी मन्त्रालयमा समेत नियुक्ति गर्ने तयारी रहेको मुख्यमन्त्री थापा मगरले बताएका छन्।




