आरोप र अफवाहप्रति गम्भीर आपत्ति, कानुनी छानबिनका लागि तयार रहेको स्पष्टोक्ति: गंगा दाहाल
२०८३ भाद्र ४, बिहीबार २१:११
काठमाडौं । समाज परिवर्तनको अभियानमा बाल्यकालदेखि नै संघर्ष गर्दै आएको बताउँदै एक नेतृले पछिल्लो समय आफू र आफ्नो परिवारविरुद्ध सार्वजनिक रूपमा फैलाइएका विभिन्न आरोप तथा अफवाहप्रति गम्भीर आपत्ति जनाएकी छन्।
उनले विगतमा आफूहरूसँग विदेशमा ४० अर्ब रुपैयाँ रहेको, नेपालका ठूला घरजग्गा तथा भाटभटेनीलगायतका व्यवसायसमेत आफूहरूसँग जोडिएको भन्दै आरोपहरू सार्वजनिक रूपमा लगाइएको उल्लेख गरेकी छन्। त्यस्ता आरोपमा आफूहरू लामो समय मौन बसे पनि पछिल्लो समय पुनः नयाँ स्वरूपमा आर्थिक अनियमितताको हल्ला फैलाउन खोजिएको भन्दै उनले आपत्ति जनाएकी हुन्।
उनले सार्वजनिक रूपमा चुनौती दिँदै त्यस्ता आरोपको पुष्टि गर्नसमेत आग्रह गरेकी छन्। आरोप पुष्टि नभएपछि अहिले ४० अर्बको ठाउँमा ५० करोड रुपैयाँको हल्ला फैलाउन खोजिएको उनको दाबी छ। “सत्य अन्ततः सत्य नै हुन्छ,” उनले भनेकी छन्।
आफू र आफ्नो परिवार नेपालको संविधान तथा प्रचलित कानुनअनुसार हुने जुनसुकै निकायको कानुनी छानबिनका लागि सदैव तयार रहेको उनले स्पष्ट पारेकी छन्। साथै, केही समयअघि नै सरकारसमक्ष आफ्नो सम्पत्ति विवरण बुझाइसकेको उल्लेख गर्दै छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले आर्थिक गलत गतिविधि तथा पदको दुरुपयोग नगरेको दाबी गर्दै गलत कार्य पुष्टि भए कानुनबमोजिम कारबाही भोग्न तयार रहेको बताएकी छन्। तर आधारहीन, अपुष्ट र राजनीतिक प्रतिशोधबाट प्रेरित आरोप भने स्वीकार्य नहुने उनको भनाइ छ।
“हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ। हामीलाई के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने राम्रोसँग थाहा छ। हामी मृत्युवरण गर्न सक्छौँ, तर जनतालाई धोका दिन सक्दैनौँ। यही हाम्रो स्कुलिङ हो,” उनले भनेकी छन्।
आफूले व्यक्तिगत जीवनसमेत नभनी बुवालाई छोरीको नाताले सहयोग गर्नु नै अपराध ठहरिनुपर्ने हो कि होइन भन्ने प्रश्नसमेत उनले उठाएकी छन्। उनले समाजका अगुवा तथा आमाबुवालाई समेत यस्ता विषयमा गम्भीर भएर सोच्न आग्रह गरेकी छन्।
सरकारले आधारहीन आरोप तथा अफवाह फैलाउने विषयमा गम्भीर ध्यान दिनुपर्ने उनको माग छ। साथै, आफ्ना समर्थक तथा सर्वसाधारणलाई कुनै पनि भ्रममा नपर्न र अपुष्ट हल्लाका आधारमा धारणा नबनाउन उनले आग्रह गरेकी छन्।
उनले आफू र आफ्नो परिवारविरुद्ध लगाइएका सम्पूर्ण आर्थिक अनियमितता तथा पद दुरुपयोगसम्बन्धी आरोप अस्वीकार गर्दै सत्य तथ्यका आधारमा मात्रै विषयको मूल्यांकन गर्न आग्रह गरेकी छन्।




