बाढीले नेपाल–चीन सीमामा संकट गहिरिँदै, चिनियाँ प्रधानमन्त्री प्रभावित क्षेत्रमै
२०८३ भाद्र ११, बिहीबार १७:०६
काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि उद्धार तथा राहत अभियान तीव्र पारिएको छ। विपद्को अवस्था बुझ्न चीनका प्रधानमन्त्री ली छ्याङ आफैं प्रभावित क्षेत्र पुगेका छन्।
तिब्बतको शिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) क्षेत्रमा बुधबार आएको बाढीपहिरोले सडक, विद्युत्, सञ्चारलगायतका पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न प्रधानमन्त्री ली बिहीबार ग्यिरोङ पुगेका हुन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशनपछि प्रधानमन्त्री लीलाई उद्धार तथा राहत कार्यको नेतृत्व गर्ने जिम्मेवारी दिइएको बताइएको छ। उनीसँगै उच्च सरकारी अधिकारीहरूको टोली पनि प्रभावित क्षेत्रमा पुगेको छ।
यसअघि नै चीनका उपप्रधानमन्त्री झाङ गुओछिङ प्रभावित क्षेत्रमा पुगेर क्षतिको निरीक्षण गरिसकेका थिए। चिनियाँ नेतृत्वले खोज, उद्धार, राहत र जोखिम न्यूनीकरणका सबै उपाय अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे, केरुङ नाका आसपास तथा सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीपहिरोका कारण नेपाल र चीनलाई जोड्ने सडक, पुल तथा सञ्चार संरचनामा समेत गम्भीर असर परेको छ।
चीनले नेपालतर्फ रहेका आफ्ना करिब १०० नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले बेपत्ता नागरिकको अवस्थाबारे नेपाली पक्षसँग समन्वय भइरहेको जनाएको छ।
उता चिनियाँ क्षेत्रमा पनि ठूलो मानवीय क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। ग्यिरोङ क्षेत्रमा केही व्यक्तिको मृत्यु भएको र सयौं मानिस सम्पर्कविहीन रहेको बताइएको छ।
नेपाल–चीन सीमाको दुवैतर्फ एकैपटक आएको प्राकृतिक विपद्ले सीमावर्ती पूर्वाधार र जनजीवनमा गम्भीर असर पारेको छ। अहिले दुवै देशका सुरक्षा तथा उद्धार निकाय खोजी, उद्धार र राहतमा केन्द्रित छन्।
यो विपद्ले सीमावर्ती क्षेत्रमा पूर्वसूचना प्रणाली, सुरक्षित पूर्वाधार र नेपाल–चीनबीच तत्कालीन विपद् समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि देखाएको छ।




