वुढिगंगा ,मोरङको बुढीगंगा गाउँपालिका–१, टंकीसिनवारीस्थित न्यू शेप जिम एन्ड फिटनेस वर्ल्डले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ।

स्वस्थ जीवनशैली र शारीरिक तन्दुरुस्तीको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै रक्तदान कार्यक्रम आयोजना गरिएको जिमका सञ्चालक प्रभाकर राना मगरले बताए।

कार्यक्रममा जिमका सदस्य, स्थानीय युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। ‘स्वास्थ्यका लागि फिटनेस, जीवनका लागि रक्तदान’ भन्ने भावनाका साथ आयोजित कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

टंकीसिनवारी क्षेत्रमा लामो समयदेखि फिटनेस, शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा सक्रिय न्यू शेप जिमले आफ्नो ११ वर्षे यात्रालाई सामाजिक सेवासँग जोड्दै वार्षिकोत्सव मनाएको हो।

सञ्चालक मगरका अनुसार जिमले आगामी दिनमा पनि स्वास्थ्य, फिटनेस र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई निरन्तरता दिनेछ।