काठमाडौं । पछिल्लो समय आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नेपाललाई चीनले २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले नगद सहयोगसँगै राहत सामग्री बोकेका दुईवटा कार्गो विमान नेपाल पठाउने तयारी गरेको छ। विपद्पछिको उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन चीनले सुरुङसम्बन्धी विज्ञ सम्मिलित दुईवटा टोलीसमेत नेपाल पठाउने भएको छ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटिरहेका बेला चीनको यो सहयोग आएको हो।

परराष्ट्रमन्त्री खनालले नेपाललाई सहयोग गर्न विभिन्न मुलुक तथा पक्षहरूले प्रतिबद्धता जनाइरहेको जानकारी दिएका छन्। यसअघि भारतले पनि नेपालमा राहत सामग्री पठाइसकेको छ भने आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

पछिल्लो प्राकृतिक विपत्तिपछि नेपालले उद्धार, राहत, पूर्वाधार पुनर्निर्माण तथा प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राखेको छ। चीनबाट प्राप्त हुने नगद तथा प्राविधिक सहयोगले विपद् व्यवस्थापन र पुनःस्थापनाका काममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।