धनगढी । सुदूरपश्चिम प्रदेशका चारवटा प्रादेशिक अस्पताल अब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा प्रयोग हुने भएका छन्।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पताल, लम्कीको लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा विश्वविद्यालयका विद्यार्थीलाई अध्ययन, प्रशिक्षण तथा व्यावहारिक अभ्यासका लागि आवश्यक व्यवस्था गरिनेछ।

शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न अस्पताल र विश्वविद्यालयबीच आवश्यक सम्झौता गर्नुका साथै कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने प्रदेश सरकारले जनाएको छ।

यसका लागि आवश्यक समन्वय र प्रक्रिया अघि बढाउने जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ।

चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयसँग जोडेर शिक्षण तथा स्वास्थ्य सेवा दुवैलाई प्रभावकारी बनाउने प्रदेश सरकारको निर्णयले सुदूरपश्चिममा स्वास्थ्य जनशक्ति उत्पादन र विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।