भद्रपुरमा आमा–छोरीका कृति एकै मञ्चमा, साहित्यमा पुस्तान्तरणको सन्देश
२०८३ भाद्र १४, आईतवार १०:३८
भद्रपुर । ऐतिहासिक भद्रपुर पुस्तकालय पुनः सक्रिय भएको केही दिनमै भद्रपुरमा दुई पुस्ताका स्रष्टाका कृति एकै मञ्चबाट सार्वजनिक भएका छन्। कवि तथा मुक्तककार लता खरेलको मुक्तकसंग्रह ‘शिशिरको जून’ र बालकवि सफलता फुयलको कवितासंग्रह ‘आभा’ एकै समारोहमा लोकार्पण गरिएको हो।
आमा लता र छोरी सफलताका कृति एकसाथ सार्वजनिक हुनुलाई सहभागी साहित्यकारहरूले संयोग मात्र नभई साहित्यमा पुस्तान्तरणको अर्थपूर्ण संकेतका रूपमा लिएका छन्। एउटा पुस्ताले आर्जन गरेको साहित्यिक संस्कार अर्को पुस्ताले आफ्नै अनुभूति, भाषा र शैलीमार्फत अघि बढाएको उदाहरणका रूपमा पनि कार्यक्रमलाई हेरिएको छ।
ऐतिहासिक भद्रपुर पुस्तकालयको आयोजनामा वीरेन्द्र माध्यमिक विद्यालयको सभाकक्षमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्य र भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको विशेष आतिथ्यमा दुवै कृति लोकार्पण गरिएको हो।
‘साहित्यमा पुस्तान्तरण सिर्जनाको निरन्तरता हो’
वरिष्ठ समालोचक प्रा. कविराज न्यौपानेले आमा–छोरीका कृति एउटै समारोहमा सार्वजनिक हुनुलाई नेपाली साहित्यमा सिर्जनात्मक पुस्तान्तरणको सुन्दर उदाहरणका रूपमा व्याख्या गरे।
उनले साहित्यिक पुस्तान्तरण पुरानो पुस्तालाई विस्थापित गरेर नयाँ पुस्ता आउने प्रक्रिया नभई अनुभव, संस्कार र सिर्जनशीलताको आधारमा नयाँ पुस्ताले साहित्यलाई आफ्नो समय र चेतनाअनुसार अघि बढाउने प्रक्रिया भएको बताए।
प्रा. न्यौपानेले भद्रपुर पुस्तकालयको पुनः सक्रियतालाई स्थानीय साहित्यका लागि महत्वपूर्ण उपलब्धि भन्दै पुस्तकालयलाई केवल पुस्तक राख्ने ठाउँका रूपमा नभई पठन, विमर्श र नयाँ स्रष्टा जन्माउने साहित्यिक केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
कृति लोकार्पणपछि साहित्यकार कृष्ण सुवेदी ‘निराकार’, लक्ष्मी रायमाझी, रोम अधिकारी र उमेश लुइँटेललगायतले दुवै कृतिबाट मुक्तक तथा कविता वाचन गरे।
‘शिशिरको जून’ माथि साहित्यकार चूडामणि वशिष्ठले समीक्षा प्रस्तुत गरे। उनले कृतिमा देखिएको भावबोध, जीवनदृष्टि र अभिव्यक्तिको पक्षमाथि चर्चा गरे। बालकवि सफलताको ‘आभा’ माथि साहित्यकार नमुना निरौला दाहालले समीक्षा गर्दै बालमन, कल्पनाशीलता र नयाँ पुस्ताको साहित्यिक चेतनालाई कृतिको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिन्।
भद्रपुर पुस्तकालयले पुनः सक्रियता हासिल गरेपछि आयोजना गरिएको पहिलो चरणको साहित्यिक कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई नयाँ गति दिएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा पत्रकार तथा गीतकार चन्द्र भण्डारी, प्रा. कविराज न्यौपाने, गजलकार तथा कवि केशव आचार्य, लीला लेखन अभियानका अभियन्ता डा. रत्नमणि नेपाल, हरिप्रसाद अधिकारी ‘यात्री’, वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खिलाराज कोइराला, दुर्गा माध्यमिक विद्यालय गरामनीका प्रधानाध्यापक लक्ष्मी सिवाकोटी, साहित्यकार निर्मला कोइराला, केसु विरही र बाबुराम पोखरेललगायतले पुस्तकालयको सक्रियताले स्थानीय साहित्यिक वातावरणलाई थप ऊर्जा दिने धारणा राखे।
सोही अवसरमा साहित्यिक क्षेत्रमा योगदान पुर्याएका केशव आचार्य, डा. रत्नमणि नेपाल र विवश पोखरेललाई सम्मान गरिएको थियो। उनीहरूलाई सम्मानपत्र, दोसल्ला र फूलमालासहित सम्मान गरिएको हो।
कार्यक्रमको सुरुवात भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो। बालकलाकार हुवस न्यौपानेले स्वागत गीत प्रस्तुत गरे भने रमन आचार्यले राष्ट्रिय गीत प्रस्तुत गरे। गुरुकुलका विद्यार्थीले स्वस्तिवाचन गरेका थिए।
कार्यक्रममा कृतिकारका आमाबुवा तथा परिवारका सदस्यलाई समेत सम्मान गरिएको थियो। अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
पुस्तकालयका संयोजक चिन्तामणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बालकवि सफलता फुयलले स्वागत गरेकी थिइन्। साहित्यकार लीला अनमोल र शिक्षक तुलसी खरेलले कार्यक्रम सञ्चालन गरेका थिए। कवि तथा मुक्तककार लता खरेलले धन्यवाद ज्ञापन गरेकी थिइन्।





