काठमाडौं, १७ भदौ। रसुवा बाढीपीडितका लागि अमेरिकी संस्थाले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ।

अमेरिकी संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको हो। बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्थामार्फत करिब २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने सामग्री पठाइएको जनाइएको छ।

राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइसम्बन्धी किट तथा सौर्य बत्ती लगायतका अत्यावश्यक सामग्री छन्।

नेपालको आवश्यकताअनुसार जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय भइरहेको अमेरिकी दूतावासले जनाएको छ।

रसुवामा आएको बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा विदेशी तथा स्वदेशी संस्थाबाट राहत सहयोग जुट्ने क्रम बढेको छ।