काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पूर्वदेखि पश्चिमसम्म तीन महिना लामो पैदल यात्रा गर्ने तयारी गरेका छन्।

महतोले झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्गलाई पछ्याउँदै पैदल यात्रा गर्ने तयारी गरेका हुन्। पार्टीका महासचिव सन्तोष मेहताका अनुसार चाडपर्व सकिएलगत्तै यात्रा सुरु गर्ने तयारी भइरहेको छ।

पार्टीका अनुसार यो यात्रा केवल राजनीतिक अभियानमा सीमित रहने छैन। जलवायु परिवर्तन र वातावरणीय संकटप्रति जनचेतना जगाउने उद्देश्यले यात्राका क्रममा विभिन्न स्थानमा वृक्षारोपणसमेत गरिनेछ।

यात्राका क्रममा महतोले स्थानीय नागरिक, राजनीतिक कार्यकर्ता तथा विभिन्न समुदायसँग प्रत्यक्ष भेटघाट गर्ने योजना बनाएका छन्। बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको आगामी कार्यदिशाबारे जनताको सुझाव लिनु पनि यात्राको महत्वपूर्ण उद्देश्य रहेको पार्टीले जनाएको छ।

यससँगै विभिन्न ठाउँमा संगठन विस्तार र संगठन निर्माणलाई समेत अभियानसँग जोडिने बताइएको छ।

पूर्वी नेपालको झापाबाट सुरु भएर सुदूरपश्चिमको कञ्चनपुरसम्म पुग्ने यो यात्रालाई महतोले जनतासँग प्रत्यक्ष संवाद, राजनीतिक संगठन विस्तार र पर्यावरण संरक्षणलाई एउटै अभियानमा जोड्ने प्रयासका रूपमा अघि बढाउन खोजेका छन्।