चिलिमे सुरुङमा उद्धारको आशा, ब्लास्टिङपछि बाटो खोल्ने प्रयास तीव्र
२०८३ भाद्र २२, सोमबार १८:५८
रसुवा । भोटेकोशीमा आएको भीषण बाढीका कारण अवरुद्ध चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि प्रयास तीव्र पारिएको छ।
सुरुङभित्र अझै कम्तीमा ६ जना कर्मचारी फसेको आशंका गरिएको छ। उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको टोली निरन्तर खटिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर सागर ढकालका अनुसार सुरुङको अवरोध हटाउन पहिलोपटक ब्लास्टिङ गरिएको छ। नुवाकोटस्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा बाँकी रहेका सामग्री प्रयोग गरेर ब्लास्टिङ सुरु गरिएको हो।
ढकालका अनुसार चिलिमेको सुरुङ ओरालो भएकाले माटो तथा भग्नावशेष हटाउन थप प्राविधिक उपाय अपनाउनुपर्ने अवस्था छ। आवश्यक उपकरण ल्याएर काम तीव्र पार्न सके भोलि साँझ वा पर्सिसम्म सुरुङभित्र प्रवेश गर्न सकिने सम्भावना रहेको उनले बताएका छन्।
हाल २१ जना नेपाली र भारतीय सैनिक सुरुङभित्र म्यानुअल रूपमा माटो तथा भग्नावशेष हटाउने काममा जुटेका छन्। करिब २५० मिटर लामो सुरुङमध्ये १०० मिटर भाग सफा भइसकेको छ।
म्यानुअल उद्धारमा कठिनाइ भएपछि ठूलो एक्स्काभेटर सुरुङ क्षेत्रमा लैजाने तयारी पनि भइरहेको छ। त्यसका लागि स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण सुरु गरिएको छ।
भौगोलिक विकटता, खराब मौसम र सडक सम्पर्क विच्छेदका कारण उद्धार सामग्री तथा उपकरण पुर्याउन चुनौती भए पनि उद्धार अभियान नरोकिएको अधिकारीहरूले बताएका छन्।
सांसद ढकालले सुरुङभित्रको अवस्था प्राविधिक रूपमा अनिश्चित रहे पनि उद्धार सम्भव हुनेमा आफूहरू आशावादी रहेको बताएका छन्।




