काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै सातै प्रदेशका लागि संयोजक तोकेको छ।

कांग्रेसले असोज १६ गतेदेखि काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरिरहेका बेला निर्वाचन समितिले प्रदेशगत समन्वय र आवश्यक परामर्शका लागि वरिष्ठ अधिवक्ताहरूलाई संयोजकको जिम्मेवारी दिएको हो।

कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार प्रदेशगत रूपमा महाधिवेशनसँग सम्बन्धित कानुनी तथा निर्वाचन प्रक्रियाबारे आवश्यक राय, परामर्श र समन्वय गर्ने जिम्मेवारी संयोजकहरूलाई दिइएको छ।

निर्वाचन समितिले कोशी प्रदेशको संयोजकमा वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की, मधेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल र गण्डकीमा जगन्नाथ ढकाललाई तोकेको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा वरिष्ठ अधिवक्ता दीपककुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई संयोजकको जिम्मेवारी दिइएको छ।

महाधिवेशनको तयारीकै क्रममा बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा पनि विशेष समन्वय गर्ने निर्णय कांग्रेसले गरेको छ। ती जिल्लामा तोकिएका निर्वाचन अधिकृत तथा स्थानीय तहका पार्टी संरचनासँग समन्वय गरी अधिवेशन प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र नेतृत्व चयन, प्रतिनिधि व्यवस्थापन र अधिवेशन प्रक्रियालाई लिएर राजनीतिक गतिविधि पनि तीव्र हुँदै गएको छ।