झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा २ अर्ब ८३ करोड ३३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले साउन र भदौ महिनाका लागि ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। लक्ष्यको तुलनामा कार्यालयले ९२.१४ प्रतिशत राजस्व सङ्कलन गरेको हो।

साउन महिनामा १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १ अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ सङ्कलन भएको थियो। साउनको राजस्व सङ्कलन लक्ष्यको ८९.१९ प्रतिशत हो।

त्यस्तै, भदौ महिनामा १ अर्ब ६४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा १ अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ। भदौमा लक्ष्यको ९४.७३ प्रतिशत राजस्व सङ्कलन भएको हो।

साउनको तुलनामा भदौमा राजस्व सङ्कलन दर बढेको छ। साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व सङ्कलन भएकामा भदौमा यो दर ९४.७३ प्रतिशत पुगेको हो।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को भदौको तुलनामा चालु आर्थिक वर्षको भदौमा राजस्व सङ्कलन ९.४३ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको भदौमा मेची भन्सार कार्यालयले १ अर्ब ३६ करोड ४४ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। चालु आर्थिक वर्षको भदौमा उक्त रकम बढेर १ अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ पुगेको हो।

प्रमुख भन्सार अधिकृत न्यौपानेले सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको बताए।