विराटनगर । भिसाको उद्देश्यविपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको भन्दै एक चिनियाँ नागरिकलाई विराटनगरबाट डिपोर्ट गरिएको छ।

विराटनगर–२ स्थित ‘लाइफ स्टाइल चाइना सुपर मार्केट’मा व्यवसाय सञ्चालन गरिरहेकी ६२ वर्षीया ली झुसियाङलाई संयुक्त अनुगमनका क्रममा आवश्यक कागजात प्रस्तुत गर्न नसकेपछि काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार ली बिजनेस डिपेन्डेन्ट भिसामा श्रीमान्सँग नेपाल आएकी थिइन्। तर, नेपाली नागरिकको नाममा दर्ता रहेको पसलमा उनी प्रत्यक्ष रूपमा खुद्रा व्यापारमा संलग्न रहेको अनुगमनका क्रममा भेटिएको थियो।

पसलमा कस्मेटिक तथा घरायसी सामग्री बिक्री भइरहेको थियो। अनुगमन टोलीले पसल सञ्चालकलाई सामग्री खरिदका बिल तथा आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रशासनका अनुसार विराटनगरमा पछिल्लो समय भिसाको प्रयोजनभन्दा फरक काममा विदेशी नागरिक संलग्न भएका घटनाहरू देखिन थालेका छन्। केही दिनअघि विराटनगरकै एक व्यापारिक मलमा पसल सञ्चालन गरिरहेकी अर्की चिनियाँ नागरिकलाई पनि यस्तै प्रकृतिको घटनामा डिपोर्ट गरिएको थियो।

प्रशासनले विदेशी नागरिकको भिसा, व्यावसायिक संलग्नता र नेपाली नागरिकको नाममा सञ्चालित व्यवसायबारे थप अनुगमन गरिरहेको जनाएको छ।