न्याय, निष्ठा र युवा नेतृत्वको आवाज बोकेर महाधिवेशन प्रतिनिधिमा अधिवक्ता काशीनाथ चुडाल
२०८३ आश्विन १३, मंगलवार १०:००
मोरङ । नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा पेशागत विषय विज्ञतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अधिवक्ता काशीनाथ चुडालले माेरङ क्षेत्र न ६ बाट उम्मेदवारी दिएका छन्।
लामो समय विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका चुडाल पार्टीको सुख, दुःख र संघर्षका हरेक चरणमा सक्रिय रहँदै आएका युवा नेता हुन्। पद र अवसरभन्दा संगठन, विचार र कार्यकर्तासँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएका चुडाल अहिले मोरङ क्षेत्र नं. ६ मा ऊर्जाशील युवा पुस्ताको नेतृत्व गर्ने सक्रिय अनुहारका रूपमा स्थापित छन्।
कानुन व्यवसाय उनको पेशा मात्र होइन, कमजोर र विपन्न नागरिकको न्यायका लागि आवाज उठाउने माध्यमसमेत बनेको छ। आर्थिक अभावका कारण न्यायबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई निःशुल्क कानुनी परामर्श तथा पैरवीमार्फत सहयोग गर्दै आएका चुडाल सामाजिक न्यायका सवालमा पनि निरन्तर सक्रिय छन्।
त्यसैगरी, स्वास्थ्य समस्या तथा कठिन परिस्थितिमा परेका पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको सहयोगमा समेत उनी निरन्तर खटिँदै आएका छन्। अप्ठ्यारो पर्दा साथ दिने र समस्यामा परेकालाई सहयोग गर्ने उनको व्यवहारले कार्यकर्तामाझ छुट्टै विश्वास निर्माण गरेको छ।
राजनीतिमा निरन्तरता, नेतृत्वमा नयाँ ऊर्जा
चुडालको उम्मेदवारी केवल एउटा पदका लागि प्रतिस्पर्धा नभई युवा ऊर्जा, पेशागत दक्षता र लामो राजनीतिक अनुभवलाई पार्टीको केन्द्रीय तहमा जोड्ने प्रयासका रूपमा हेरिएको छ।
पार्टीलाई समयअनुकूल बनाउन युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै चुडालले नेपाली कांग्रेसलाई अझ लोकतान्त्रिक, पारदर्शी, अनुशासित र जनउत्तरदायी बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएका छन्।
“पार्टीमा पद प्राप्त गर्नु मेरो उद्देश्य होइन, पार्टी र जनताको पक्षमा काम गर्ने जिम्मेवारी प्राप्त गर्नु मेरो प्राथमिकता हो,” चुडालको भनाइ छ।
कानुनको क्षेत्रमा हासिल गरेको अनुभव, विद्यार्थी राजनीतिदेखि निरन्तर कायम रहेको राजनीतिक सक्रियता, सामाजिक सेवाप्रतिको प्रतिबद्धता र युवा पुस्तासँगको बलियो सम्बन्धलाई आफ्नो मुख्य आधार बनाउँदै चुडालले महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
न्यायको पक्षमा आवाज, संगठनको पक्षमा निरन्तर सक्रियता र परिवर्तनका लागि युवा नेतृत्वको संकल्पसहित अधिवक्ता काशीनाथ चुडाल महाधिवेशन प्रतिनिधिको दौडमा छन्।




