सुन्दरहरैँचा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशन मनोनयन दर्ताअघि नै उत्पन्न विवादका कारण रोकिएको छ।

सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा क्षेत्रीय अधिवेशनअन्तर्गत मनोनयन दर्ताको तयारी भइरहेका बेला कांग्रेस कार्यकर्ताबीच विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै गएपछि दुई पक्षबीच झडपको अवस्था सिर्जना भएको बताइएको छ।

झडपपछि निर्धारित मनोनयन दर्तासहित क्षेत्रीय अधिवेशनका निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोकिएको हो। घटनापछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।

विवादको वास्तविक कारण र घटनाको विस्तृत विवरणबारे सम्बन्धित पक्षबाट औपचारिक जानकारी आउन बाँकी छ। साथै, रोकिएको अधिवेशन प्रक्रिया कहिले र कसरी अघि बढाउने भन्ने विषयमा सम्बन्धित पक्षबीच छलफल भइरहेको बताइएको छ।

मोरङ–६ मा अधिवेशन प्रक्रिया अघि बढाउने तयारी भइरहेका बेला मनोनयन दर्ताअघि नै विवाद र झडप भएपछि कांग्रेसको क्षेत्रीय नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ।