दुहबीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा, सेवा सुधारमा जोड
२०८३ आश्विन १५, बिहीबार १९:५१
दुहबी । दुहबी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको पालिकास्तरीय वार्षिक समीक्षा सुरु गरेको छ।
नगर सभाहलमा असोज १५ र १६ गते सञ्चालन हुने समीक्षामा नगर स्वास्थ्य शाखा तथा नगरभित्रका १२ वटै स्वास्थ्य संस्था, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट भएका कामको प्रगति, उपलब्धि र चुनौतीबारे छलफल भइरहेको छ।
प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख बिन्देश्वरप्रसाद महतो, उचित नारायण साह, स्वास्थ्य संस्थाका प्रमुख तथा विभिन्न वडाका जनप्रतिनिधिको सहभागिता रहेको छ।
कार्यक्रममा स्वास्थ्य शाखाले तयार पारेको विवरण तथा प्रस्तुतिका आधारमा गत आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको कार्यान्वयन अवस्था, उपलब्धि र सेवा प्रवाहका क्रममा देखिएका समस्याबारे समीक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले सीमित स्रोतसाधनका बाबजुद स्वास्थ्यकर्मीले नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको भन्दै स्वास्थ्य संस्थाहरूलाई धन्यवाद दिए।
समीक्षाले स्वास्थ्य क्षेत्रमा भएका कामको तथ्यगत मूल्यांकनसँगै कमजोरी पहिचान गरी आगामी वर्षका योजना थप प्रभावकारी बनाउन आधार तयार गर्ने नगरपालिकाको अपेक्षा छ।
नगर स्वास्थ्य शाखा प्रमुख महतोका अनुसार समीक्षाबाट पहिचान भएका समस्या र सुधारका विषयलाई आगामी कार्ययोजनामा समेटेर स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउने तयारी गरिएको छ।
नगरपालिकाले वार्षिक समीक्षा केवल उपलब्धि प्रस्तुत गर्ने औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी त्यसबाट प्राप्त निष्कर्षलाई आगामी नीति तथा कार्यक्रममा जोड्न सके स्थानीय स्वास्थ्य सेवा थप व्यवस्थित र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।




