युक्रेनलाई इयूको २.९ अर्ब युरो सहयोग, बजेट र सुधार कार्यक्रममा खर्च गरिने
२०८३ आश्विन १७, शनिबार १८:१६
ऐजन्सि । युक्रेनले आर्थिक स्थायित्व कायम राख्न तथा पुनर्लाभ र आधुनिकीकरणका कार्यक्रम अघि बढाउन युरोपेली सङ्घ (इयू)बाट २.९ अर्ब युरो वित्तीय सहयोग प्राप्त गरेको छ।
युक्रेनको अर्थ मन्त्रालयका अनुसार उक्त रकम प्राथमिकताप्राप्त सरकारी खर्च व्यवस्थापन, समष्टिगत आर्थिक स्थायित्व तथा पुनर्निर्माणसँग सम्बन्धित कार्यक्रममा परिचालन गरिनेछ।
इयूको सदस्यता प्राप्त गर्ने प्रक्रियालाई अघि बढाउन आवश्यक सुधार कार्यक्रम कार्यान्वयनमा समेत सहयोग रकम प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
प्राप्त कुल रकममध्ये ८० करोड युरो ‘युक्रेन सहयोग ऋण’ (युएसएल) अन्तर्गत पहिलो किस्ताका रूपमा आएको हो। उक्त रकम करिब ८९ करोड ८० लाख अमेरिकी डलर बराबर हुन्छ।
इयूले सन् २०२६ देखि २०२७ सम्म युक्रेनको बजेट तथा रक्षासम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ९० अर्ब युरो बराबरको वित्तीय संयन्त्रका रूपमा युएसएल स्थापना गरेको हो।
युक्रेनले जारी युद्धका बीच सरकारी वित्तीय व्यवस्थापन, पुनर्निर्माण र युरोपेली सङ्घसँगको एकीकरण प्रक्रियालाई प्राथमिकतामा राख्दै आएको छ।




