सानेपामा ‘मेड इन नेपाल’ ब्रान्डको प्रदर्शनी
२०८३ आश्विन १७, शनिबार १८:२४
काठमाडौं । नेपाली उत्पादन तथा स्थानीय ब्रान्डको प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको सानेपास्थित हेरिटेज गार्डनमा ‘ब्रान्ड नेपाल–गो लोकल २०२६’ आयोजना गरिएको छ।
मेलामा नेपाली फेसन, फुटवेयर, हस्तकला, कस्मेटिक्स तथा खाद्य सामग्रीका विभिन्न उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। स्थानीय स्टार्टअप, साना तथा मझौला उद्यमी र सामाजिक उद्यमीले आफ्ना उत्पादनसहित सहभागिता जनाएका छन्।
स्वदेशी उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने तथा नेपाली ब्रान्डको बजार विस्तारमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो। मेलामा विभिन्न नेपाली उत्पादनबारे जानकारी लिन र प्रत्यक्ष खरिद गर्न उपभोक्ताको सहभागिता रहेको छ।
आयोजकका अनुसार मेलाले नेपाली उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउन, उद्यमीलाई आफ्ना उत्पादनको बजार पहिचान गर्न तथा नयाँ ग्राहकसम्म पुग्न सहयोग पुर्याउनेछ।
स्वदेशी उत्पादनको प्रयोग बढाउने उद्देश्यले रेडियो नागरिक ९६.५ ले सन् २०१८ देखि ‘गो लोकल’ अभियान सञ्चालन गर्दै आएको छ। अभियानमार्फत नेपाली उद्यमी तथा स्थानीय ब्रान्डलाई आफ्ना उत्पादन चिनाउने अवसर प्रदान गरिँदै आएको आयोजकले जनाएको छ।




