प्यानल हट्यो, गुट हट्यो त ? कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ राजनीतिक
२०८३ आश्विन १८, आईतवार १२:५४
युवा, महिला र विज्ञलाई नेतृत्वमा ल्याउनेदेखि प्यानलविहीन निर्वाचनसम्म, कांग्रेसले महाधिवेशनबाट संगठनको शैली बदल्ने संकेत
विराटपाटी समाचार विश्लेषण ,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। नेतृत्व चयनका लागि हुने नियमित राजनीतिक प्रतिस्पर्धाभन्दा यसपटकको महाधिवेशनलाई कांग्रेसले संगठनात्मक शैली परिवर्तन गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ।
विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधन कार्यान्वयनमा ल्याउँदै कांग्रेसले नेतृत्व संरचनामा युवा, महिला, पेशाकर्मी, श्रमिक, अल्पसंख्यक तथा विभिन्न क्षेत्रका विज्ञको सहभागिता बढाउने व्यवस्था गरेको छ। यसको अर्थ केवल पदाधिकारीको संख्या थप्नु होइन, परम्परागत राजनीतिक संगठनको संरचनालाई क्रमशः नयाँ पुस्ता र नयाँ पेशागत समूहसँग जोड्ने प्रयास पनि हो।
सबैभन्दा चर्चित व्यवस्था ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व हो। केन्द्रीय कार्यसमितिमा २१ जना युवा सदस्य आउने व्यवस्था गरिएको छ। वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले गरिएको यो व्यवस्थाले पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहसलाई संस्थागत गर्न खोजेको देखिन्छ।
महिलाको प्रतिनिधित्वलाई पनि कम्तीमा एकतिहाइ पुर्याउने संवैधानिक व्यवस्थाले कांग्रेसको समावेशी चरित्रलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। त्यस्तै, सहमहामन्त्रीको संख्या ८ बाट ११ पुर्याइएको छ।
कांग्रेसले पार्टीबाहिर विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिलाई समेत मूल राजनीतिक संरचनामा ल्याउने बाटो खोलेको छ। ‘ल्याटरल इन्ट्री’ भनिएको यो व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। यसले राजनीतिमा लामो समयदेखि सक्रिय कार्यकर्तासँगै विज्ञताको आधारमा नयाँ अनुहारलाई पनि पार्टी नेतृत्वमा प्रवेश गर्ने अवसर दिनेछ।
विदेशमा रहेका कांग्रेससम्बद्ध नेपालीलाई पनि यसपटक केन्द्रीय संरचनासँग जोड्ने व्यवस्था गरिएको छ। नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
समावेशी प्रतिनिधित्वको दायरा पनि विस्तार गरिएको छ। अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितलाई केन्द्रीय संरचनामा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ।
नयाँ विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना मनोनीत हुनेछन्।
प्यानलविहीन निर्वाचनको परीक्षा
यसपटक कांग्रेसले औपचारिक रूपमा प्यानल बनाएर चुनावमा जाने अभ्यास नगर्ने घोषणा गरेको छ। प्रतिनिधिले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्ने भनिएको छ।
तर व्यवहारमा यसको प्रभाव कति पर्छ भन्ने प्रश्न महत्वपूर्ण छ। नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा समूह, गुट र समीकरणको प्रभाव लामो समयदेखि रहँदै आएको छ। प्यानलको औपचारिक संरचना हटे पनि अनौपचारिक राजनीतिक समीकरण कायम रहन सक्ने सम्भावना उत्तिकै छ।
त्यसैले प्यानल निषेधको घोषणा कांग्रेसको राजनीतिक संस्कार परिवर्तनको वास्तविक परीक्षा पनि बन्नेछ।
महाधिवेशनमै शैली परिवर्तन
करिब सात हजार प्रतिनिधिलाई एउटै हलमा केन्द्रित गर्नुको सट्टा प्रदेशगत समूह बनाएर राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि छलफल गराउने तयारी गरिएको छ। हिमाल, पहाड र तराई–मधेश नामका तीन संरचनामा बन्दसत्र सञ्चालन गरिनेछ।
राजनीतिक तथा सांगठनिक प्रतिवेदन डिजिटल माध्यमबाट उपलब्ध गराउने र प्रतिनिधिका धारणा तथा सुझावलाई अभिलेखमा राख्ने व्यवस्था पनि नयाँ अभ्यासका रूपमा अघि सारिएको छ।
विद्युतीय मतदानको तयारी गरिए पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्ततः परम्परागत मतदान प्रणालीमै फर्किनुपर्ने भएको छ। यसले कांग्रेसको डिजिटल रूपान्तरण अझै पूर्ण रूपमा कार्यान्वयनको चरणमा नपुगेको संकेत गर्छ।
महाधिवेशनको प्रचारशैलीमा समेत परिवर्तन खोजिएको छ। ठूला गेट, होर्डिङ बोर्ड, तोरण र अत्यधिक झण्डा प्रयोगलाई निरुत्साहित गर्दै डिजिटल प्रचारमा जोड दिइएको छ। उम्मेदवारले प्रचार सामग्री छापेर मतदानस्थलमा वितरण गर्न नपाउने व्यवस्था पनि गरिएको छ।
देशले प्राकृतिक विपद्को सामना गरिरहेको अवस्थामा महाधिवेशनलाई भड्किलो र खर्चिलो नबनाउने नीति लिनु पनि राजनीतिक सन्देशका हिसाबले महत्वपूर्ण छ।
अब प्रश्न कार्यान्वयनको
‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नाराले पार्टीभित्र नयाँ बहसको संकेत गरेका छन्। तर कांग्रेसका लागि वास्तविक चुनौती महाधिवेशनको मञ्चमा नयाँ अभ्यास घोषणा गर्नु मात्र होइन, त्यसलाई संगठनको दैनिक राजनीतिक संस्कारमा रूपान्तरण गर्नु हो।
युवा नेतृत्वलाई अवसर, महिलालाई वास्तविक निर्णयकारी भूमिका, विज्ञलाई नीतिनिर्माणमा स्थान र कार्यकर्तालाई गुटभन्दा माथि उठेर प्रतिस्पर्धा गर्ने वातावरण दिन सके मात्रै यी नयाँ व्यवस्थाको अर्थ स्थापित हुनेछ।
त्यसैले कांग्रेसको १५औँ महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने अधिवेशन होइन, पुरानो संगठनात्मक संस्कार र नयाँ राजनीतिक अपेक्षाबीचको परीक्षण पनि बन्ने देखिन्छ।
महाधिवेशनले कांग्रेसलाई साँच्चै ‘२.०’ बनाउँछ वा पुरानै राजनीतिक अभ्यासलाई नयाँ भाषामा दोहोर्याउँछ, यसको उत्तर भने महाधिवेशनपछि देखिने व्यवहारले दिनेछ।




