‘राजादेखि दल र नयाँ पुस्तासम्मलाई एउटै संवादमा ल्याएर राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो राजनीतिक परिवर्तनले नेतृत्वका अनुहार फेरिए पनि मुलुकको मूल समस्या समाधान हुन नसकेको बताएका छन्। उनले अहिलेको राजनीतिक अवस्थालाई थप जटिल बन्दै गएको भन्दै परम्परागत राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर नयाँ राष्ट्रिय समझदारी निर्माण गर्नुपर्ने धारणा राखेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अतिथिका रूपमा सम्बोधन गर्दै लिङदेनले केही महिनाको राजनीतिक घटनाक्रमले एउटा महत्वपूर्ण तथ्य देखाएको बताए। उनका अनुसार सरकार र नेतृत्व परिवर्तन हुँदैमा जनताको असन्तुष्टि समाप्त नहुने रहेछ।

उनले कांग्रेसको अघिल्लो महाधिवेशनमा आफूले व्यक्त गरेको धारणा स्मरण गर्दै त्यसबेला जनतामा राजनीतिक नेतृत्वप्रति रहेको अविश्वास अहिले पनि कायम रहेको बताए।

लिङदेनले भने, ‘पात्रहरू परिवर्तन भए, तर प्रवृत्ति परिवर्तन भएन।’ उनका अनुसार राजनीतिक नेतृत्व फेरिए पनि जनताको निराशा र राजनीतिक अस्थिरतामा अपेक्षित सुधार देखिएको छैन।

उनले मुलुक अहिले राजनीतिक रूपमा अझै अस्थिर अवस्थामा रहेको दाबी गरे। सरकारको आलोचना गर्ने शैलीदेखि सामाजिक सञ्जालमा हुने राजनीतिक प्रतिक्रियासम्म परिवर्तन भए पनि शासन र राजनीतिक संस्कारमा अपेक्षित परिवर्तन आउन नसकेको उनको भनाइ थियो।

संविधान अपरिवर्तनीय दस्तावेज होइन

लिङदेनले वर्तमान संविधानलाई समयअनुकूल सुधार गर्न सकिने दस्तावेजका रूपमा व्याख्या गरे। संविधानलाई कुनै धार्मिक ग्रन्थजस्तो अपरिवर्तनीय मान्न नहुने उनको तर्क थियो।

उनका अनुसार संविधान निर्माण गर्दा तत्कालीन परिस्थितिका आधारमा राम्रा उद्देश्य राखिएका भए पनि कार्यान्वयनका क्रममा देखिएका कमजोरी र त्रुटिलाई सच्याउन आवश्यक छ।

उनले भने, ‘नमिलेका विषय मिलाउँदै र कमजोरी सुधार्दै अघि बढ्नुपर्छ।’

लिङदेनले राजनीतिक निषेधको संस्कृति लामो समयसम्म कायम राख्न नसकिने बताए। राजसंस्थाले राजनीतिक दललाई र दलहरूले राजसंस्थालाई निषेध गर्ने अभ्यासले मुलुकलाई समाधानतर्फ नभई थप द्वन्द्वतर्फ धकेलेको उनको निष्कर्ष थियो।

‘अब सबै पक्षलाई एउटै ठाउँमा ल्याउनुपर्छ’

राप्रपा अध्यक्ष लिङदेनले वर्तमान राजनीतिक संकटबाट बाहिर निस्कन नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको बताए। उनले कुनै एक पक्षको जित वा अर्को पक्षको हारभन्दा पनि देशले जित्ने गरी सहमति निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले राजसंस्था समर्थक शक्ति, राजनीतिक दल र पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्ने युवाहरूलाई समेत संवादको एउटै घेरामा ल्याउनुपर्ने प्रस्ताव अघि सारे।

उनको भनाइमा देशको निकास कुनै एक राजनीतिक शक्ति वा व्यक्तिको प्रयासबाट मात्र सम्भव छैन। त्यसका लागि सबै पक्षबीच संवाद, सहकार्य र सहमतिको वातावरण निर्माण गर्नुपर्ने हुन्छ।

लिङदेनले भने, ‘कसैले नहार्ने र सिंगो देशले जित्ने सहमति निर्माण गर्नुपर्छ।’

उनको यो अभिव्यक्ति कांग्रेसको महाधिवेशनको मञ्चबाट आएकोले पनि अर्थपूर्ण मानिएको छ। पछिल्लो समय गणतन्त्र, संविधान, राजसंस्था, नयाँ पुस्ताको असन्तुष्टि र परम्परागत दलहरूको भूमिकामाथि बहस तीव्र भइरहेका बेला लिङदेनले सबै पक्षलाई एउटै संवादमा ल्याउने प्रस्ताव अघि सारेका हुन्।

अबको राजनीतिक बहस केवल सत्ता परिवर्तनमा सीमित नराखी प्रणाली, शासनशैली र जनविश्वास पुनर्निर्माणसँग जोडिनुपर्ने उनको सन्देश देखिन्छ।