चिकित्साबाट राजनीतितर्फ डा. सीता पोखरेल घिमिरेको नेतृत्व दाबी
२०८३ आश्विन १९, सोमबार ०९:५२कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्य महिला कोटाबाट उम्मेदवारी

काठमाडौ । चिकित्सा सेवामा लामो अनुभव र सामाजिक क्षेत्रमा सक्रियता हासिल गरेकी प्राध्यापक तथा स्त्रीरोग विशेषज्ञ डा. सीता पोखरेल घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। उहाँले खस–आर्य महिला तर्फबाट उम्मेदवारी प्रस्तुत गर्दै पार्टीको नीति निर्माण तहमा महिला सहभागिता र दक्ष नेतृत्वको आवश्यकता औँल्याउनुभएको छ।
त्रिभुवन विश्वविद्यालयबाट अध्ययन पूरा गरी गोल्ड मेडल प्राप्त गर्नुभएकी डा. घिमिरे चिकित्सा क्षेत्रमा स्थापित नाम हुनुहुन्छ। स्त्रीरोग विशेषज्ञ तथा प्राध्यापकका रूपमा लामो समयदेखि कार्यरत उहाँले चिकित्सा पेशालाई केवल रोजगारीका रूपमा नभई सेवाको माध्यमका रूपमा अघि बढाउँदै आउनुभएको छ।
सर्लाहीमा जन्मिनुभएकी घिमिरेको पारिवारिक तथा कर्मसम्बन्ध धनुषासँग जोडिएको छ भने पछिल्लो लामो समयदेखि उहाँ विराटनगरमा रहेर चिकित्सा तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। मधेशदेखि कोशीसम्मको सामाजिक तथा व्यावसायिक सम्बन्धलाई आफ्नो राजनीतिक यात्राको आधारका रूपमा उहाँले लिनुभएको छ।
चिकित्सा क्षेत्रमा हासिल गरेको ज्ञान, प्रशासनिक तथा व्यावसायिक अनुभव र समाजसँगको प्रत्यक्ष सम्बन्धलाई अब राजनीतिक माध्यमबाट जनसेवामा विस्तार गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको उहाँको भनाइ छ।
डा. घिमिरेले राजनीतिमा महिलाको सहभागिता संख्या बढाउने विषयमा मात्र सीमित नराखी निर्णय प्रक्रियामा सक्षम महिला नेतृत्व स्थापित गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ। स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण तथा सामाजिक न्यायका विषयलाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्नुपर्ने उहाँको जोड छ।
उहाँको उम्मेदवारीले कांग्रेसभित्र पेशागत तथा प्राज्ञिक पृष्ठभूमिबाट आएका व्यक्तिलाई पार्टीको नीति निर्माण तहमा ल्याउने बहसलाई समेत बल दिएको छ। चिकित्सा क्षेत्रको प्रत्यक्ष अनुभव भएका कारण स्वास्थ्य नीति, महिला स्वास्थ्य, मातृ तथा प्रजनन स्वास्थ्यलगायतका विषयमा पार्टीको दृष्टिकोणलाई थप प्रभावकारी बनाउन सकिने उहाँका समर्थकहरूको दाबी छ।
“पदका लागि मात्र होइन, आफ्नो ज्ञान, अनुभव र सेवाभावलाई व्यापक जनहितमा प्रयोग गर्न राजनीतिमा आएको हुँ,” भन्ने धारणा राख्दै घिमिरेले आफूलाई जिम्मेवार, अध्ययनशील र सेवामुखी नेतृत्वका रूपमा प्रस्तुत गर्नुभएको छ।
कांग्रेसको केन्द्रीय नेतृत्वमा महिलाको अर्थपूर्ण उपस्थिति बढाउनुपर्ने बहस भइरहेका बेला डा. घिमिरेको उम्मेदवारीलाई पेशागत दक्षता, सामाजिक अनुभव र महिला नेतृत्वको संयोजनका रूपमा हेरिएको छ।
अब प्रश्न उहाँको उम्मेदवारी मात्र होइन, कांग्रेसका महाधिवेशन प्रतिनिधिले अनुभव, क्षमता र सेवाको पृष्ठभूमिलाई कति महत्व दिन्छन् भन्नेमा पनि केन्द्रित भएको छ।




