पहिरो र सडक भासिएपछि पुनर्निर्माण तीव्र, केही खण्डमा एकतर्फी र दुईतर्फी यातायात सञ्चालन

काठमाडौं । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने भएको छ।

लगातारको वर्षा, बाढी र पहिरोका कारण क्षतिग्रस्त मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकखण्डको मर्मत तथा पुनः सञ्चालनको काम तीव्र पारिएको सडक विभागले जनाएको छ।

विभागका अनुसार घासा–कोरला खण्डमा अहिले दुईतर्फी यातायात सञ्चालन हुन थालेको छ। यस्तै, रातोपानी क्षेत्रमा सडक कटान भएको स्थानमा ब्याक कटिङ तथा टेवा पर्खाल निर्माण गरी यातायात सुचारु गरिएको छ।

तर बेनीतर्फको सडकखण्डमा क्षति गम्भीर रहेकाले तत्कालै नियमित यातायात सञ्चालन गर्न कठिन देखिएको छ। पोखरेबगर पुलको एप्रोच निर्माण अझै जारी छ।

रातोपानीका दुई स्थानमा सडक पूर्णरूपमा भत्किएको छ। भीरकाटे आसपासको सडकसमेत पैदल आवागमन गर्न नसकिने अवस्थामा पुगेको विभागले जनाएको छ। बेगखोलानजिक करिब १ सय मिटर सडक नै भासिएपछि पुनर्निर्माण चुनौतीपूर्ण बनेको छ।

त्यस्तै, बैसेरी क्षेत्रमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ। राहुघाटदेखि सिरुबारीसम्म भने एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

पोखरेबगर आसपासको रातोपानी खण्डमा समेत ट्र्याक खोल्ने काम अघि बढाइएको छ। कुनेटो क्षेत्रमा क्याकफिलिङको काम भइरहेको विभागको भनाइ छ।

सडक विभागले आजदेखि मुख्य कटान तथा पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणको कामलाई थप तीव्रता दिने जनाएको छ। विभागका अनुसार बाँकी अवरोध हटाएर यो सडकखण्डलाई नियमित सञ्चालनमा ल्याउन अझै करिब ६ दिन लाग्न सक्छ।

कोरला नाका सञ्चालनमा रहेको अवस्थामा बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात, पर्यटन तथा स्थानीय व्यापारमा प्रत्यक्ष प्रभाव परेको छ। त्यसैले सडक पूर्णरूपमा सञ्चालनमा ल्याउनु स्थानीयका लागि मात्र नभई चीनसँगको सीमावर्ती व्यापारिक आवागमनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।