१५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षी शिवाकोटी : संगठन सुदृढीकरणदेखि प्रवासी नेपालीका मुद्दालाई नीति निर्माणको केन्द्रमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं । प्रवासमा नेपाली कांग्रेसको संगठन निर्माणदेखि नेपाली समुदायका सामाजिक मुद्दासम्म सक्रिय रहँदै आएका नवराज शिवाकोटीले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। दक्षिण कोरियामा लामो समय कांग्रेसको संगठन विस्तारमा सक्रिय रहेका शिवाकोटीले प्रवासी नेपालीको आवाजलाई पार्टीको केन्द्रीय नीति र निर्णय प्रक्रियासम्म पुर्‍याउने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्वसभापति तथा कांग्रेसका १३औँ, १४औँ र १५औँ महाधिवेशनका महासमिति सदस्य शिवाकोटीले पार्टीलाई समयअनुकूल, थप जनमुखी र समावेशी बनाउने अभियानमा आफूले भूमिका खेल्ने बताएका छन्।

नेविसंघबाट सुरु भएको राजनीतिक यात्रा

शिवाकोटीको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। विद्यार्थी राजनीतिपछि नेपाल तरुण दल हुँदै उनी नेपाली कांग्रेसको प्रवास संगठनमा सक्रिय बने। दक्षिण कोरियामा रहँदा उनले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिको जिम्मेवारी सम्हाले।

प्रवासमा कांग्रेसको संगठन विस्तारसँगै नेपाली समुदायका सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय शिवाकोटीले जनसम्पर्क समिति विश्व सञ्जालमा दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै उपसभापतिको भूमिका निर्वाह गरेका थिए।

‘प्रवासीको योगदानलाई नीति निर्माणसँग जोड्नुपर्छ’

शिवाकोटीको उम्मेदवारीको प्रमुख आधारमध्ये प्रवासी नेपालीका मुद्दा पनि एक हो। उनका अनुसार लाखौँ नेपाली वैदेशिक रोजगारी, व्यवसाय तथा अध्ययनका लागि विदेशमा रहे पनि उनीहरूले देशको अर्थतन्त्र, समाज र राजनीतिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

त्यसैले वैदेशिक रोजगारीमा रहेका नेपालीका अधिकार, प्रवासमा उनीहरूले भोगिरहेका समस्या, रेमिट्यान्समार्फत अर्थतन्त्रमा पुर्‍याएको योगदान तथा विदेशबाट फर्किएपछि उनीहरूले हासिल गरेको सीप र अनुभवलाई देश निर्माणमा उपयोग गर्ने विषय पार्टीको नीति निर्माणमा प्रभावकारी रूपमा समेटिनुपर्ने उनको धारणा छ।

अनुभव र नयाँ पुस्ताबीच सेतु बन्ने दाबी

कांग्रेसलाई बदलिँदो समयअनुसार अघि बढाउन नयाँ पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको राजनीतिक अनुभवबीच सहकार्य आवश्यक रहेको शिवाकोटी बताउँछन्।

पार्टीभित्रको आन्तरिक एकता बलियो बनाउने, संगठनलाई थप प्रभावकारी बनाउने तथा कांग्रेसलाई आमनागरिकसँग अझ नजिक जोड्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

कोरियादेखि कांग्रेसको केन्द्रीय राजनीतिसम्म

तेह्रथुममा पुख्र्यौली घर भएका शिवाकोटी हाल मोरङमा बसोबास गर्दै आएका छन्। दक्षिण कोरियामा रहँदा व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय उनले नेपाल–दक्षिण कोरिया सम्बन्ध र कोरियामा रहेका नेपाली समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा भूमिका निर्वाह गरेका छन्।

प्रवासमा लामो समय कांग्रेसको संगठन र नेपाली समुदायसँग जोडिएर काम गरेका शिवाकोटीको केन्द्रीय सदस्य पदमा उम्मेदवारीसँगै विदेशमा रहेका नेपालीका मुद्दा कांग्रेसको मूलधारको राजनीतिमा कति बलियो रूपमा स्थापित हुन्छन् भन्ने विषयसमेत चासोको केन्द्रमा आएको छ।

शिवाकोटीको दाबी स्पष्ट छ—प्रवासमा रहेका नेपाली केवल पार्टीका समर्थक वा शुभेच्छुक होइनन्, उनीहरू देशको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका महत्वपूर्ण साझेदार हुन्। यही आवाजलाई कांग्रेसको केन्द्रीय तहसम्म पुर्‍याउने उनको प्रयास हो।