फार्मेसी र नर्सिङ परिषद्मा ८ नयाँ सदस्य, आजै लिए शपथ
२०८३ आश्विन १९, सोमबार १६:०२
काठमाडौं । नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा सरकारले नयाँ सदस्य नियुक्त गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपाल फार्मेसी परिषद्मा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नरिज बर्तौला नियुक्त भएका छन्।
त्यसैगरी नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे विष्ट नियुक्त भएका छन्।
नवनियुक्त सबै सदस्यले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
मन्त्रालयले नयाँ सदस्यहरूले सम्बन्धित परिषद्मार्फत फार्मेसी तथा नर्सिङ क्षेत्रको नियमन, व्यवस्थापन र व्यावसायिक विकासमा भूमिका निर्वाह गर्ने जनाएको छ।
परिषद्का सदस्यहरूको नियुक्तिसँगै औषधि तथा फार्मेसी व्यवसायको नियमन, नर्सिङ जनशक्तिको व्यावसायिक व्यवस्थापन तथा दुवै क्षेत्रको गुणस्तर सुधारमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।




