काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अधिवक्ता काशीनाथ चुडालले केन्द्रीय सदस्य (विषयविज्ञ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। कानुन र सामाजिक क्षेत्रको आफ्नो अध्ययन, अनुभव र व्यावसायिक दक्षतालाई कांग्रेसको नीति निर्माण र निर्णय प्रक्रियासँग जोड्ने लक्ष्यसहित उनले केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

मोरङ क्षेत्र नं. ६ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित चुडालले पार्टीभित्र विषयगत विज्ञताको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिवेशमा राजनीतिक दलको नेतृत्व केवल सांगठनिक अनुभवमा सीमित हुनु पर्याप्त छैन। नीति निर्माणलाई तथ्य, अध्ययन र विषयगत विशेषज्ञतामा आधारित बनाउनुपर्ने समय आएको छ।

लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय चुडाल सामाजिक सेवामा पनि संलग्न छन्। लायन्स क्लबमार्फत विभिन्न सामाजिक गतिविधिमा काम गर्दै आएका उनले आफ्नो व्यावसायिक तथा सामाजिक अनुभवलाई अब पार्टीको केन्द्रीय तहमा नीतिगत योगदानका रूपमा उपयोग गर्ने बताएका छन्।

चुडालले कांग्रेसभित्र विज्ञता र राजनीतिक निर्णयबीचको दूरी घटाउनुपर्नेमा जोड दिएका छन्। समसामयिक कानुनी, सामाजिक तथा नीतिगत विषयमा पर्याप्त अध्ययन र विज्ञताको प्रयोग हुन सके पार्टीका निर्णय थप तथ्यपरक, व्यावहारिक र परिणाममुखी बन्न सक्ने उनको धारणा छ।

“१५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (विषयविज्ञ) पदमा उम्मेदवारी दिँदैछु। कानुनी र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा उपयोग गर्ने मेरो उद्देश्य हो,” चुडालले भने।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा आफूले हासिल गरेको ज्ञान र अनुभवलाई पार्टीमार्फत सार्वजनिक हितमा प्रयोग गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्।

केन्द्रीय नेतृत्वमा निर्वाचित भए कानुनी, सामाजिक तथा समसामयिक विषयमा पार्टीभित्र नीतिगत बहसलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, विषयगत विज्ञतालाई निर्णय प्रक्रियासँग जोड्ने तथा संगठनको कार्यसम्पादनलाई परिणाममुखी बनाउन भूमिका खेल्ने उनको प्रतिबद्धता छ।

एलएलबी र एलएलएम अध्ययन गरेका चुडाल विद्यावारिधिका शोधार्थीसमेत हुन्। उनले महाधिवेशन प्रतिनिधिहरूमाझ आफूलाई अध्ययन, अनुभव र विषयगत दक्षतालाई राजनीतिक जिम्मेवारीसँग जोड्न खोज्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

कांग्रेसको आगामी नेतृत्व चयनको बहसमा चुडालको उम्मेदवारीले संगठनभित्र *राजनीतिमा विज्ञताको स्थान’*लाई समेत बहसको विषय बनाएको छ। विषयविज्ञका रूपमा उनको दाबी कति प्रभावकारी हुन्छ भन्ने निर्णय भने महाधिवेशन प्रतिनिधिको मतले गर्नेछ।