सार्वजनिक सरोकारका मुद्दामा नागरिक आवाज बलियो बनाउने जिम्मेवारी

इटहरी । नागरिक सरोकारका विषयमा खबरदारी र जनआवाजलाई संस्थागत गर्ने जिम्मेवारीसहित नागरिक समाज इटहरीको अध्यक्षमा दोर्णबहादुर न्यौपाने चयन भएका छन्।

नागरिक भेला तथा ‘नागरिक सन्देश–२’ पुस्तक विमोचनका अवसरमा न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। उनी यसअघि नागरिक समाज इटहरीका उपाध्यक्ष थिए। न्यौपाने इटहरी–२० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजका क्याम्पस प्रमुखसमेत हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा भोलाकाजी बस्नेत, गंगा आचार्य र सुरेन्द्र तामाङ, महासचिवमा लक्ष्मी कुमारी थेवे तथा सचिवमा तेज दाहाल चयन भएका छन्।

सदस्यहरूमा अनन्त विष्ट, उर्मिला कटुवाल, सुमित अधिकारी, पुष्पप्रभा गुरागाईँ, राजेन्द्र बास्तोला, प्रदीपकुमार रेग्मी, सचिन पोख्रेल, हिमाल दाहाल, विनोद देवान, राम खड्का, डीसी चौधरी, नटवर राठी, गंगा कार्की पौडेल, दिनेश कोइराला, डम्बर तामाङ र सुवास गौतम छन्। समितिको कार्यकाल एक वर्षको हुनेछ।

नयाँ नेतृत्व चयनसँगै नागरिक समाजले स्थानीय शासन, सार्वजनिक सेवा, विकास निर्माण, पारदर्शिता र नागरिक अधिकारसँग जोडिएका विषयमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले सार्वजनिक सरोकारका विषयमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा नागरिक समाज इटहरीद्वारा प्रकाशित ‘नागरिक सन्देश–२’ पुस्तकसमेत विमोचन गरिएको थियो।

न्यौपानेको नेतृत्वमा अब नागरिक समाज इटहरीले केवल औपचारिक संस्थाका रूपमा नभई स्थानीय मुद्दामा प्रश्न उठाउने, सार्वजनिक निकायलाई जवाफदेही बनाउने र नागरिकका आवाजलाई सम्बन्धित तहसम्म पुर्‍याउने दबाबमूलक भूमिकालाई कसरी अघि बढाउँछ भन्ने विषय महत्वपूर्ण हुनेछ।