काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाका दुई वरिष्ठ अधिकृतको जिम्मेवारी हेरफेर गर्दै उच्च तहमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ।

आयोगको २०८३ असोज २० गतेको निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायाधिवक्ताका रूपमा कार्यरत अच्यूतमणि न्याैपानेलाइ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

न्याैपाने हाल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कार्यरत रहेकाले उनलाई सोही आयोगको सचिवका रूपमा पदस्थापन गर्न आयोगले सिफारिस गरेको हो।

त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव ध्रुबकुमार चौहानलाई नायब महान्यायाधिवक्तामा नियुक्ति तथा पदस्थापन गर्न सिफारिस गरिएको छ। उनलाई महान्यायाधिवक्ताको कार्यालय, काठमाडौँमा पदस्थापन गरिनेछ।

दुई वरिष्ठ अधिकृतको जिम्मेवारी परिवर्तनसँगै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र महान्यायाधिवक्ताको कार्यालय दुवैमा नेतृत्व तहको प्रशासनिक संरचना फेरिने भएको छ।

आयोगको सिफारिसपछि सम्बन्धित निकायबाट आवश्यक नियुक्ति तथा पदस्थापन प्रक्रिया अघि बढ्नेछ।