इन्टरनेट मतदानतर्फ निर्वाचन आयोग, अब प्रविधि र सुरक्षाको परीक्षा
२०८३ आश्विन २१, बुधबार १४:१८
काठमाडौं । निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा औपचारिक तयारी अघि बढाएको छ। आयोगले प्रविधिको प्रदर्शनसँगै साइबर सुरक्षा, डिजिटल पहिचान, प्राविधिक जनशक्ति र सरकारी सूचना प्रणालीबीचको अन्तरआबद्धतालाई प्राथमिकतामा राखेको छ।
२०८३ असोज २० गते आयोजित कार्यक्रममा SMARTEC र Inspiring Lab का विज्ञहरूले अन्तर्राष्ट्रिय अभ्याससहित इन्टरनेट मतदानको प्रविधि, मतदाता प्रमाणीकरण, सुरक्षित मत व्यवस्थापन र साइबर सुरक्षाबारे प्रस्तुतीकरण गरे। SMARTEC ले मतदान प्रणालीको प्रत्यक्ष डेमोसमेत देखायो।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग आगामी दिनमा इन्टरनेट मतदानतर्फ अघि बढ्ने बताए। तर प्रणाली लागू गर्न प्रविधि मात्र नभई संस्थागत क्षमता, साइबर सुरक्षा र अन्तरनिकाय समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
निर्वाचन आयुक्त डा. राजीव सुब्बाले इन्टरनेट मतदान आयोगको मात्र परियोजना नभएको स्पष्ट गर्दै सरकारी निकायमा उपलब्ध ICT जनशक्ति र विशेषज्ञताको ‘स्किल म्यापिङ’ आवश्यक रहेको बताए।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र, राहदानी, अध्यागमन, नेपाल प्रहरीलगायत २४ भन्दा बढी सरकारी निकायका ICT प्रमुख तथा प्रतिनिधि सहभागी थिए। डिजिटल पहिचान, डाटा आदानप्रदान, साइबर सुरक्षा र प्रणाली अन्तरआबद्धताबारे उनीहरूले सुझाव दिएका थिए।
अब आयोगसामु मुख्य प्रश्न प्रविधि ल्याउने होइन, त्यसलाई सुरक्षित, विश्वसनीय र नागरिकले विश्वास गर्ने निर्वाचन प्रणालीमा रूपान्तरण गर्ने हो।




