काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिक भूमिकामा औपचारिक रूपमा फर्किएकी छन्।

भण्डारीले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष एमालेको वरिष्ठ नेताको शपथ लिएकी हुन्। शपथसँगै उनी वरिष्ठ नेताका रूपमा पार्टीका औपचारिक बैठकमा सहभागी भएकी छन्।

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकमा भण्डारीले शपथ लिएकी हुन्।

एमाले सचिवालय बैठकले गत ८ असोजमा भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेपछि उनको पार्टी भूमिकाले औपचारिकता पाएको हो।

पूर्वराष्ट्रपतिको जिम्मेवारीपछि सक्रिय राजनीतिबाट अलग रहेकी भण्डारीको एमालेमा वरिष्ठ नेताका रूपमा पुनरागमनलाई पार्टीभित्र र बाहिर चासोका साथ हेरिएको छ।