क्वालालम्पुर। मलेसियाले कामदारको न्यूनतम मासिक तलब १ हजार ७ सयबाट बढाएर २ हजार रिंगिट पुर्‍याउने घोषणा गरेको छ। सन् २०२७ जुनदेखि लागू हुने यो व्यवस्थाबाट मलेसियामा कार्यरत नेपालीसहित लाखौँ विदेशी तथा स्वदेशी कामदार लाभान्वित हुनेछन्।

प्रधानमन्त्री अनवर इब्राहिमले बजेट २०२७ प्रस्तुत गर्दै नयाँ तलबमान सार्वजनिक गरेका हुन्। हालको विनिमय दरअनुसार २ हजार रिंगिट करिब ८० हजार नेपाली रुपैयाँ बराबर हुन्छ। यसअघि १ हजार ७ सय रिंगिट न्यूनतम तलब पाउने कामदारको मासिक आम्दानी करिब १२ हजार रुपैयाँले बढ्नेछ।

मलेसियाली सरकारका अनुसार नयाँ व्यवस्थाबाट ४० लाखभन्दा बढी कामदार लाभान्वित हुनेछन्। तर, वार्षिक कारोबार ५० लाख रिंगिटभन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यमलाई भने तत्काल यो तलबमान लागू गर्न छुट दिइनेछ।

सरकारले अर्धदक्ष कामदार र स्नातक उत्तीर्ण जनशक्तिका लागि कम्तीमा २ हजार ५ सय रिंगिट सुरुआती तलब तोक्ने योजना पनि अघि सारेको छ। त्यस्तै, सरकारी स्वामित्वका कम्पनी तथा सरकारसँग सम्बद्ध लगानी संस्थाले कामदारको न्यूनतम मासिक तलब ३ हजार १ सयबाट बढाएर ३ हजार ४ सय रिंगिट पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। यसबाट करिब २ लाख ३० हजार कामदार लाभान्वित हुने अपेक्षा छ।

प्रधानमन्त्री इब्राहिमले कामदारको उत्पादकत्व र पारिश्रमिकबीचको अन्तर घटाउन तथा बढ्दो महँगीअनुसार आम्दानी समायोजन गर्नुपर्ने बताएका छन्। सरकारले दक्ष कामदारले आफ्नो योग्यता र क्षमताअनुसार पारिश्रमिक नपाउने समस्या समाधान गर्नुपर्नेमा पनि जोड दिएको छ।

यसैबीच, विदेशी कामदारको रोजगारीलाई व्यवस्थित गर्न मलेसियाले करसम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ। निश्चित ठूला कम्पनीले कर्मचारीको तलब खर्चमा कर छुट दाबी गर्न तलब बैंक खातामार्फत भुक्तानी गरेको हुनुपर्ने व्यवस्था गरिने जनाइएको छ।

नेपाली कामदारका लागि तलब वृद्धिको घोषणा राहतदायी भए पनि यसको वास्तविक लाभ कार्यान्वयन, रोजगारदाताको पालना र जीवनयापनको बढ्दो लागतमा निर्भर हुनेछ।