काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ। तर, निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा कठिनाइ भएको छ।

राजमार्गका अन्य स्थानमा समेत पहिरो खस्न सक्ने जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। सम्भव भएसम्म यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत सुझाव दिइएको छ।

वर्षा जारी रहेकाले सडक खुल्ने समय अनिश्चित छ। यात्रा गर्नुअघि राजमार्गको पछिल्लो अवस्थाबारे जानकारी लिनु सुरक्षित हुनेछ।