साना किसान कृषि सहकारीको अध्यक्षमा साह निर्वाचित
२०८३ आश्विन २४, शनिबार १३:४९
टंकीसिनवारी, मोरङ। साना किसान कृषि सहकारी संस्था लिमिटेड, बुढीगंगा गाउँपालिका, मोरङको वार्षिक साधारणसभाबाट सुशीला देवी साह अध्यक्ष पदमा निर्वाचित भएकी छन्। टंकी जेसिज भवनमा आयोजित साधारणसभाले साहको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा चनर रिसिदेव चयन भएका छन्। त्यसैगरी सञ्चालक सदस्यहरूमा ललिता देवी माझी, राधिका बातर, सविता देवी चौधरी, मञ्जु यादव, रीता कुमारी खाँ, पूजा कुमारी सुतीहार र सुलेखा विश्वास चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला कृषि सहकारी संघका अध्यक्ष रवीन्द्र आचार्यले सहकारीमार्फत कृषि उत्पादन वृद्धि, किसानको आर्थिक अवस्था सुधार तथा ग्रामीण अर्थतन्त्रको विकासमा जोड दिए।
कार्यक्रममा एनसीडीसीका पूर्वअध्यक्ष नारायण कार्की, बुढीगंगा पालिका अस्पतालका उपाध्यक्ष दर्शनराज न्यौपाने, समाजसेवी मुस्तफा मियाँ तथा महिला नेतृ प्रभा मण्डललगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
वक्ताहरूले सहकारी संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण, महिला सहभागिता, कृषि व्यवसायको प्रवर्द्धन र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे। उनीहरूले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रमको सञ्चालन सहकारीकी प्रबन्धक शान्ति कुमारी सरदारले गरेकी थिइन्।
नवनिर्वाचित अध्यक्ष साहको नेतृत्वमा सहकारीले सदस्यहरूको हित संरक्षण, कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन र संस्थागत सुशासनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।




