‘नुहाउन मिल्ने नदी’ बनाउने कुलमानको संकल्प, सरकारलाई काम गर्न आग्रह
२०८३ आश्विन २४, शनिबार १६:४५
काठमाडौंका नदी सफा नभएसम्म सहर सुन्दर नहुने घिसिङको भनाइ, नदी सफाइलाई प्राथमिकता दिन जोड
काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले काठमाडौंका नदीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्ने बताएका छन्। बागमती, विष्णुमती र धोबीखोलाको सफाइलाई प्राथमिकतामा राख्दै उनले नदी सफा नभएसम्म सहर सुन्दर बन्न नसक्ने धारणा राखेका हुन्।
काठमाडौं महानगरपालिका–१७, खुसीबुस्थित बाल उद्यान सामुदायिक सेवा समितिले शनिबार आयोजना गरेको चाडपर्वलक्षित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै घिसिङले नदी सफाइको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।
‘जबसम्म बागमती, विष्णुमती र धोबीखोलालाई आनन्दले नुहाउन सक्ने बनाइँदैन, तबसम्म काठमाडौं सुन्दर हुँदैन,’ उनले भने। नदी सफाइका कामलाई तीव्रता दिन आग्रह गर्दै उनले काठमाडौंलाई मात्र नभई समग्र मुलुकलाई समृद्ध र हरियाली बनाउने अभियान आवश्यक रहेको बताए।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा काम गर्दा लोडसेडिङ अन्त्य गराएको प्रसंग उल्लेख गर्दै घिसिङले अब मुलुकका सबै क्षेत्रलाई उज्यालो बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा राखे।
उनले विगतमा काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदा सुरु गरिएका नदी सफाइका कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले नदी संरक्षण र सहरी वातावरण सुधारका कामलाई अझ राम्रोसँग अघि बढाउन सक्ने उनको भनाइ थियो।
घिसिङले वर्तमान सरकारले अपेक्षित काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफ्नो पार्टीलाई रोज्ने विश्वाससमेत व्यक्त गरे।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै मुलुकको समृद्धिका लागि सबै पक्ष लाग्नुपर्ने बताए।
बाल उद्यान सामुदायिक सेवा समितिका अध्यक्ष रामकुमार श्रेष्ठले स्थानीय विकास तथा सामाजिक कार्यमा सहकार्य गर्दै अघि बढ्न सबैलाई आह्वान गरे।




