चाडपर्वमा सवारी चाप बढ्ने भएकाले चालक, यातायात व्यवसायी र विद्यालयलाई थप सतर्क रहन आग्रह
२०८३ आश्विन २४, शनिबार १६:५९
काठमाडौँ, २३ असोज। पोखरामा विद्यालय बस दुर्घटना हुँदा चार विद्यार्थीको मृत्यु र १४ जना घाइते भएपछि नेपाल प्रहरीले सडक सुरक्षा र बालबालिकाको सुरक्षित यात्राप्रति विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार शुक्रबार बिहान करिब ६ः३३ बजे कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा चार विद्यार्थीको मृत्यु भएको र १४ जना घाइते भएका छन्।
प्रहरीले मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन तथा अनुसन्धान अघि बढाइएको जनाएको छ।
विद्यालय बसमा यात्रा गर्ने बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु सम्बन्धित विद्यालय, सवारी सञ्चालक र चालकको प्रमुख जिम्मेवारी भएको प्रहरीले स्मरण गराएको छ।
निर्धारित सिट क्षमताभन्दा बढी विद्यार्थी नराख्न, सवारीसाधनको यान्त्रिक अवस्था नियमित जाँच गर्न तथा सुरक्षा मापदण्ड पूरा नगरेका सवारी प्रयोग नगर्न पनि आग्रह गरिएको छ।
प्रहरीका अनुसार सडक दुर्घटना रोकथामका लागि नियमित सवारी जाँच, कानुन उल्लङ्घन गर्नेमाथि कारबाही, जनचेतनामूलक कार्यक्रम र जोखिमयुक्त सडकखण्डको निगरानीजस्ता काम हुँदै आएका छन्। दुर्घटनाको जोखिम घटाउन यस्ता प्रयाससँगै चालकको योग्यता, सवारीको अवस्था र सडकको परिस्थितिमा समेत ध्यान दिन आवश्यक छ।
दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सडकमा यात्रु तथा सवारीसाधनको चाप बढ्ने भएकाले थप सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ। विशेषगरी पहाडी क्षेत्रका साँघुरा सडक, घुम्ती, उकालो–ओरालो तथा भिरपाखामा यात्रा गर्दा सडक र मौसमको अवस्था बुझेर सावधानीपूर्वक सवारी चलाउनुपर्नेमा जोड दिइएको छ।
साथै, क्षमताभन्दा बढी यात्रु तथा सामान नबोक्न, लामो यात्राअघि सवारीको प्राविधिक अवस्था जाँच गर्न र सवारी नियमको पूर्ण पालना गर्न प्रहरीले सबै सडक प्रयोगकर्तालाई आग्रह गरेको छ।
विद्यालय बस दुर्घटनाले बालबालिकाको यात्रालाई सुरक्षित बनाउने विषयमा विद्यालय प्रशासनदेखि अभिभावक, चालक र यातायात व्यवसायीसम्म सबै पक्षको जिम्मेवारीलाई पुनः स्मरण गराएको छ। सुरक्षित सवारी सञ्चालन र जिम्मेवार सडक व्यवहारबाट मात्रै यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सकिने प्रहरीको आग्रह छ।




