बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल देशकै सरकारी अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ । नतिजा न्यूनतम सेवा मापदण्डहरूको मूल्याङ्कनमा आधारित थियो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले माध्यमिक ख स्तरका अस्पतालको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो पटक पहिलो हुन सफल भएको बताए ।

स्वास्थ्य निर्देशनालयको न्यूनतम सेवा स्तर मूल्याङ्कन समितिका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालले यो वर्ष न्यूनतम मापदण्ड मूल्याङ्कनमा ८९ अंक ल्याएको छ ।

अस्पतालको सुशासन र व्यवस्थापन, अस्पतालको क्लिनिकल व्यवस्थापन र सहयोग सेवा जस्ता विषयहरू मूल्याङ्कनका मुख्य मापदण्ड हुन्। मूल्याङ्कन समितिमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमन्स इन्स्टिच्युट काठमाडौं रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, प्युठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् ।