नेपाल प्रिमियर लिग (NPL) को लिग चरण सकिएसँगै प्लेअफ आज (बुधबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ।

एलिमिनेटर खेल बिहान ९ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ। यी दुवै टिम लिग तालिकामा तेस्रो र चौथो स्थानमा आठ अंकसहित पुगेका हुन्।

यो खेलको विजेता उपाधि दौडमा रहनेछ, भने पराजित टोली बाहिरिनेछ।

पहिलो क्वालिफायर खेल दिउँसो १ बजे तालिकाको शीर्षस्थानमा रहेका सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानका जनकपुर बोल्ट्सबीच हुनेछ।

यस खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ, भने पराजित टिमले दोस्रो क्वालिफायरमा अर्को मौका पाउनेछ।

दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ बजे हुनेछ, जसमा पहिलो क्वालिफायरको पराजित टिमले एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यो खेलको विजेताले शनिबार दिउँसो १२ बजे हुने फाइनल खेल्नेछ।

विजेता टिमले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ, भने उपविजेताले ५० लाख रुपैयाँ हात पार्नेछ।

तेस्रो स्थान प्राप्त गर्ने टिमलाई ३० लाख रुपैयाँ र चौथो टिमलाई २० लाख रुपैयाँ प्रदान गरिनेछ।