मस्तिष्क रक्तस्रावको उपचार निःशुल्क
२०८१ पुष २७, शनिबार १२:२५
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्क रक्तस्रावको उपचार निःशुल्क सुनिश्चित गर्न पहल गरिरहेको बताएका छन्।
सोमबार कान्ति बाल अस्पतालको ६३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बाल क्यान्सरको निःशुल्क उपचार सुरु भइसकेको जानकारी गराउँदै मस्तिष्क रक्तस्रावको निःशुल्क उपचारका लागि पनि प्रयास भइरहेको उल्लेख गरे।
कान्ति बाल अस्पतालको भौतिक पूर्वाधार र जनशक्तिको अभावप्रति सचेत रहेको बताउँदै उनले मन्त्रालयबाट सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाए। “सीमित साधनस्रोतको बीचमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै आएकोले अस्पतालप्रति विश्वास बढेको छ,” मन्त्री पौडेलले भने।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आरपी बिच्छाले कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य संस्थानको रूपमा विकास गर्न सुझाव दिए। अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीले अस्पताललाई चिकित्साको क्षेत्रमा राष्ट्रिय सम्पत्तिको रूपमा वर्णन गरे।
वि.सं. २०१९ मा ५० शय्याबाट सुरु भएको कान्ति बाल अस्पताल हाल ३७२ शय्या सहित देशको एक मात्र केन्द्रीय र रिफरल बाल अस्पताल हो। गएको आर्थिक वर्षमा अस्पतालले १ लाख ८० हजारभन्दा बढी बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरेको छ।




