महाकुम्भ मेला भारतको प्रयागराजमा सुरु भएको छ। गंगा, यमुना र काल्पनिक सरस्वती नदीको संगमस्थलमा आज ४० लाखभन्दा बढी भक्तजनहरूले पवित्र स्नान गरेका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनवरी १३ देखि फेब्रुअरी २६ सम्म सञ्चालन हुने यो महाकुम्भले भारतको प्राचीन सांस्कृतिक र धार्मिक परम्परालाई विश्वस्तरमा उचाइ दिने बताएका छन्।

महाकुम्भ मेला अधिकारी विजय किरण आनन्दका अनुसार अहिलेसम्म ४० लाखभन्दा बढी मानिसहरूले स्नान गरेका छन्।

‘पौष पूर्णिमा’ को महत्त्वबारे जानकारी दिंदै प्रयागराजको राम नाम बैंकका संयोजक आशुतोष वर्श्नेयले भने, यो हिन्दू पात्रो अनुसार पौष महिनाको शुक्ल पक्षको १५औं दिनमा पर्छ। यस दिनबाट तीर्थयात्रीहरूले गहन आध्यात्मिक साधना र भक्ति गर्ने ‘कल्पवास’ को सुरुवात गर्छन्।

प्रयागराज अहिले सन्त, ऋषि-मुनि, तीर्थयात्री र भक्तजनहरूलाई स्वागत गरिरहेको छ।

आइतबार मात्रै ५० लाख भक्तजनले संगममा पवित्र स्नान गरेका थिए। शनिबार ३३ लाख मानिसहरूले स्नान गरेका थिए भने दुई दिनमा कुल ८५ लाख मानिसहरूले पवित्र स्नान गरिसकेको अधिकारीहरूले बताएका छन्।