अब एटीएमबाट पैसा निकाल्न कार्डको आवश्यकता छैन
२०८१ माघ २९, मंगलवार १०:१९
जापानको सेभेन बैंकले ‘फेस रिकग्निसन’ प्रविधि अपनाउँदै बैंकिङ सेवा थप आधुनिक बनाएको छ। अब ग्राहकहरूले एटीएम कार्ड वा स्मार्टफोन बिना नै देशभरका २६,००० एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सक्नेछन्।
‘फेस क्यास’ नाम दिइएको यो सुविधाका लागि ग्राहकले पहिलो पटक अनुहारको जानकारी दर्ता गर्नुपर्नेछ। त्यसपछि, पासवर्ड र कोड नम्बर प्रयोग गरी सहज रूपमा रकम निकाल्न सकिन्छ।
सेभेन बैंक र टेक कम्पनी एनईसीले संयुक्त रूपमा विकास गरेको यो प्रविधिले पहिचान चोरी रोक्ने दाबी गरिएको छ। साथै, अन्य बैंकका खाताधारकहरूले पनि भविष्यमा यो सेवा प्रयोग गर्न सक्नेछन्।
सेभेन बैंकको मूल कम्पनी सेभेन एण्ड होल्डिङ्स हो, जसको मुख्यालय टोकियोमा रहेको छ। बैंकले यस प्रविधिलाई सुरक्षित, सुविधाजनक, र भरपर्दो भएको बताएको छ।




