ओडिशाको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले जबरजस्ती हटाइएका ७०० भन्दा बढी नेपाली विद्यार्थीहरूलाई पुनः होस्टलमा फर्कन दिने निर्णय गरेको छ।

आइतबार, नेपाली विद्यार्थीहरूले आफ्नी सहपाठी प्रकृति लम्सालको शंकास्पद मृत्युको विरोधमा प्रदर्शन गर्दा विश्वविद्यालय प्रशासनले प्रहरी बल प्रयोग गरी उनीहरूलाई होस्टलबाट निष्कासन गरेको थियो।

घटनापछि कूटनीतिक तहबाट पहल भएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै KIIT विश्वविद्यालयले विद्यार्थीहरूलाई पुनः होस्टलमा बस्ने अनुमति दिएको जनाएको छ।

“नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई अध्ययन निरन्तर गर्न दिनु पर्छ भन्ने माग दूतावासले विश्वविद्यालयसमक्ष राखेको थियो,” विज्ञप्तिमा भनिएको छ। “विश्वविद्यालयले उक्त मागलाई स्वीकार गर्दै कक्षाहरू पूर्ववत् सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।”

रुपन्देहीकी नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा रहस्यमय रूपमा मृत फेला परेको घटनाले नेपाली विद्यार्थीहरू आन्दोलित बनेका थिए। छानबिनको माग गर्दै गरिएको प्रदर्शनपछि विश्वविद्यालय प्रशासनले प्रहरी परिचालन गर्दै विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट बाहिर निकालेको थियो।

नेपाली दूतावासले यस घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै विश्वविद्यालय प्रशासनलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ। विश्वविद्यालयले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।