कोशी प्रदेश खेलकुद महोत्सवको चेस प्रतियोगितामा राजन सुवेदीको अग्रता

विराटनगर, १४ फाल्गुण – कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत चेस प्रतियोगिता बुधबारबाट सुरु भएको छ। कोशी प्रदेशका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
फाल्गुण १३ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन झापाका राजन सुवेदीले प्रारम्भिक दुई खेलमा विजय हासिल गर्दै अग्रता लिएका छन्। सुवेदीले झापाकी प्रविशा दवाडी र सुनसरीका बलबहादुर तामाङलाई पराजित गरेका हुन्।
झापाका २०२१ रेटेड सिएम शुश्रुत दहालले पनि दुई खेल जित्दै संयुक्त अग्र स्थान बनाएका छन्। नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका ८२ खेलाडी सहभागी छन्, जसमध्ये पहिलो दिन १८ खेलाडीले समान २ अंक प्राप्त गरेका छन्।
विजेताहरुलाई रु. २ लाख १ हजार बराबरको पुरस्कार प्रदान गरिनेछ। पहिलो स्थान हासिल गर्ने खेलाडीले रु. ५० हजार नगद, गोल्ड मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। अन्य शीर्ष स्थानका खेलाडीहरुले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता झापा जिल्ला बुद्धिचाल संघको आयोजना र नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालन भएको हो। उद्घाटन समारोहमा संघका अध्यक्ष भुपेन्द्र निरौला, महासचिव धरम बहादुर लामा, फिडे आर्विटर सोराज ताम्राकार, राठी ग्रुपका अरुण राठी लगायतको उपस्थिति रहेको थियो।