वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनी लगानीकर्ताहरूका लागि ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम घोषणा गर्नुभएको छ। यस योजनाले सन् १९९० देखि चलिरहेको ईबी–५ भिसालाई प्रतिस्थापन गर्नेछ।

ट्रम्प प्रशासनले सार्वजनिक गरेको नयाँ योजनाअन्तर्गत विदेशी लगानीकर्ताले ५० लाख अमेरिकी डलर (करिब ७० करोड नेपाली रुपैयाँ) लगानी गरेमा स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) सरहको सुविधा प्राप्त गर्नेछन्।

यो भिसा योजनामा लगानीकर्ताले रोजगारी सिर्जना गर्नुपर्ने प्रावधान हटाइएको छ। यसले धनी र सफल विदेशीहरूलाई अमेरिकामा स्थायी रूपमा बसोबास गर्न प्रोत्साहन गर्ने सरकारको योजना रहेको बताइएको छ।

राष्ट्रपति ट्रम्पले यो कार्यक्रम आगामी दुई हप्ताभित्र लागू गरिने बताउँदै भविष्यमा १० लाखसम्म गोल्ड कार्ड बिक्री गर्ने लक्ष्य राखिएको उल्लेख गर्नुभएको छ।

वर्तमानमा अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका देशहरूले धनी विदेशी लगानीकर्तालाई आकर्षित गर्न यस्तै ‘गोल्डेन भिसा’ योजना सञ्चालन गर्दै आएका छन्। 

ट्रम्प प्रशासनको नयाँ योजना पनि विश्वव्यापी लगानीकर्ताहरूलाई अमेरिकातर्फ आकर्षित गर्ने रणनीतिको रूपमा हेरिएको छ।