नेपाली समुदायका राना हङकङ सरकारद्वारा सुरक्षा सल्लाहकार नियुक्त
२०८१ चैत्र ५, मंगलवार ११:५४
हङकङमा बसोबास गर्दै आएका नेपाली मूलका टंक रानाले नयाँ जिम्मेवारी पाएका छन्।
हङकङ सरकारले उनलाई राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार (मेन्टर) को रूपमा नियुक्त गरेको हो। सुरक्षा सचिवालय र गृह तथा युवा मामिला विभागको संयुक्त पहलमा आयोजित एक समारोहमा, याय चि मोङ क्षेत्रमा उनलाई यो जिम्मेवारी हस्तान्तरण गरिएको हो।
करीब तीन दशकदेखि हङकङमा सक्रिय टंक राना, नेपाली समुदायबीच नेतृत्व, सामाजिक सेवा र समर्पणका लागि चिनिन्छन्। हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्षका रूपमा उनले नेपाली आवाजलाई सशक्त रूपमा उठाउँदै आएका छन्।
यस नियुक्तिले हङकङमा नेपाली समुदायको पहिचान र सम्मान अझ उचो भएको छ। समुदायका धेरैले यो उपलब्धिलाई गौरवपूर्ण क्षणको रूपमा लिएका छन्।




