गर्मी मौसमसँगै उपभोक्ताको रोजाइमा माेही पर्न थालेपछि डेरी उद्योगीहरू यसलाई व्यवस्थित रूपमा ब्रान्डिङ गरी बजारमा ल्याउन सक्रिय भएका छन्।

 प्याकेजिङ र लेबलिङसहित देशभरका करिब १७ वटा डेरी उद्योगले मही बिक्री गर्दै आएका छन्। नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा मही अभियन्ता प्रह्लाद दाहालका अनुसार, हाल यी डेरीहरूबाट उत्पादित मही दैनिक १० हजार लिटरसम्म बजारमा खपत भइरहेको छ।

महीको स्वास्थ्य लाभबारे जनचेतना बढ्दै गएपछि उपभोक्ताहरूको माग उल्लेख्य रूपमा वृद्धि भएको छ।

 पोषणविद्‌हरूका अनुसार, मही प्रोटिन, क्याल्सियम, भिटामिन बी लगायतका आवश्यक पोषक तत्वले भरिपूर्ण भएकाले यो शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ।

 नियमित सेवनले पाचन प्रणाली सुधार गर्ने, हड्डी बलियो बनाउने र रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने बताइन्छ।

डेरी उद्योगीहरू महीलाई थप आकर्षक बनाउन विभिन्न स्वाद र प्याकेजिङसहित उपभोक्तासमक्ष पुर्‍याउने योजनामा छन्। बजारको माग पूरा गर्न केही डेरी उद्योगले उत्पादन वृद्धिको तयारीसमेत गरिरहेका छन्।

स्वास्थ्य विशेषज्ञहरू गर्मी मौसममा शरीरलाई शीतल राख्न र आवश्यक पोषण प्राप्त गर्न नियमित रूपमा मही सेवन गर्न सुझाव दिन्छन्। उपभोक्ताहरूको सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै, भविष्यमा महीको बजार झन् विस्तार हुने अपेक्षा गरिएको छ।